अष्ट्रेलियामा पनि टिकटक प्रतिबन्ध, प्रधानमन्त्री अल्बानिजले गरे हस्ताक्षर
चैत २१, मेलबर्न, अष्ट्रेलिया । अष्ट्रेलियामा पनि टिकटकमा प्रतिबन्ध लाग्ने भएको छ। सरकारले सरकारी डिभाइसहरूमा टिकटकमाथि प्रतिबन्ध लगाउने भएको हो। यस एपले गोप्य निगरानी गर्ने त्रास फैलिएसँगै अष्ट्रेलियाको सरकार प्रतिबन्ध गर्ने निर्णयमा पुगेको हो।
प्रधानमन्त्री एन्थोनी अल्बानीजले गृह विभागको सुरक्षा समीक्षा पछि प्रतिबन्धमा हस्ताक्षर गरेको द अष्ट्रेलियनले रिपोर्ट गरेको छ।
राजनीतिज्ञ र सरकारी कर्मचारीहरूले प्रयोग गर्ने कुनै पनि फोन वा कम्प्युटरमा टिकटक इन्स्टल गर्न नपाइने बताइएको छ। सरकारले यस हप्ताको अन्त्यमा यसबारे आधिकारिक घोषणा गर्ने जानकारी दिइएको छ।
अमेरिका र बेलायत सरकारले गरेको यस्तै निर्णयको अष्ट्रेलियाले पनि पिछा गरेको छ।
अमेरिकाले एपमा सामान्य प्रतिबन्ध लगाउने बारे पनि विचार गरिरहेको छ। जसको मतलब नियमित नागरिकहरूलाई पनि उनीहरूको फोनमा टिकटक चलाउन पाउने छैनन्।
यस्तो प्रतिबन्धबारे अष्ट्रेलियामा चर्चा नभएका कारण अष्ट्रेलियनहरूले अझै पनि आफ्नो फोनमा टिकटक प्रयोग गर्न पाउनेछन्।
बाइटडान्सको कम्पनी टिकटकले आफ्नो एपलाई मानिसहरुको जासुसी गर्न प्रयोग नगरेको दाबी गरिरहेको छ।
अष्ट्रेलियाका करीब ९० लाख मानिसहरूले टिकटक चलाउने डेटा रहेको छ।