प्रेमीबाट ६० लाख ठग्ने युवक पक्राउ


चैत २६, काठमाडौँ । सामाजिक सञ्जालमा जोडिएर ठगी गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा पर्वत घर भएका २६ वर्षीय विश्व शर्मा रहेका छन्।

आरोपित शर्माले सामाजिक सञ्जाल फेसबुकमा महिलाको नक्कली फेसबुक अकाउन्ट बनाएर पीडितलाई फ्रेन्ड रिक्वेस्ट पठाइ ठगी गरेको नेपाल प्रहरीको साइबर ब्यूरोले जनाएको छ ।

साथी भएपछि वार्तालाप हुँदै जाँदा उनीहरूको सम्बन्ध प्रेममा परिणत भएको र प्रेममा पारिसकेपछि शर्माले नक्कली आईडीबाट पीडित युवालाई विभिन्न प्रलोभनमा पारेर रकम माग गर्न थालेको प्रहरीको भनाइ छ ।

यसरी विभिन्न समयमा प्रलोभनमा पारेर पीडित युवाबाट ६० लाख रुपैयाँ बढी ठगी गरेको उजुरी साइबर ब्यूरोमा परेको थियो । त्यही उजुरीमाथिको अनुसन्धानका क्रममा शर्मा पक्राउ परेका हुन् ।

प्रहरीको प्रारम्भिक अनुसन्धानबाट शर्माले आफ्नै महिला साथीको फोटो दुरुपयोग गरी नक्कली अकाउन्ट बनाएको देखिएको छ । शर्मालाई सामाजिक सञ्जालको दुरुपयोग गरी भएको ठगी अन्तर्गतको कसुरमा जिल्ला अदालतको आदेशले पाँच दिनको म्याद थप गरी आवश्यक अनुसन्धान भइरहेको ब्यूरोले जनाएको छ ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?