येशुलाई भेट्ने भन्दै भोकै बसेका ४ जना क्रिस्चियनहरूको मृत्यु, ११ जना अस्पताल भर्ना


वैशाख २, एजेन्सी । चार जना इसाईहरूको भोकले मृत्यु भएको छ। येशुलाई भेट्ने भन्दै केही दिनदेखि भोकै बसेका केन्याका चार इसाईहरूको मृत्यु भएको प्रहरीले जनाएको छ।

त्यस्तै, भोकै बसेका करिब १५ ‘कट्टरपन्थी’ केन्याली क्रिस्चियनहरूलाई प्रहरीले शुक्रबार उद्धार गरेको थियो। तर, त्यसमध्ये चार जनाको भने मृत्यु भएको जनाइएको छ।

सबै १५ जना किलिफीको तटीय काउन्टीमा रहेको गुड न्युज इन्टरनेशनल चर्चका सदस्य थिए। उनीहरूलाई मेकेन्जी न्थेन्ज नामक प्रचारकले भोकै बस्दा येशुसँग भेट हुने भन्दै भोकै बस्न उक्साएका थिए।

केन्याको हिन्द महासागरको तटमा रहेको मालिन्दी सहर नजिकैको जंगलबाट बाँचेका ११ जनालाई उद्धार गरी अस्पताल लगिएको प्रहरीले जनाएको छ। त्यहाँ थप पीडित हुन सक्ने भन्दै अनुसन्धान सुरू गरिएको छ।

चार जनाको मृत्यु भएपछि भोकै बस्न उक्साउने अभियन्ताको खोजी सुरू गरिएको प्रहरीले जानकारी दिएको छ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?