सिड्नीमा ड्युटीमै रहेका सरकारी कर्मचारीको चक्कु प्रहार गरी हत्या
वैशाख २, मेलबर्न, अष्ट्रेलिया । सिड्नी म्याकडोनाल्ड्समा शुक्रबार एक प्यारामेडिकलाई छुरा प्रहार गरी हत्या भएपछि २१ वर्षीय पुरूषलाई हत्याको आरोप लगाइएको छ।
काम सकिने बेला भएको अवस्थामा २९ वर्षीय प्यारामेडिक स्टिभन टगरलाई उक्त पुरूषले छुरा प्रहार गरेका थिए।
न्यु साउथ वेल्सको प्रहरीलाई क्वीन स्ट्रीटको फास्ट फूड आउटलेटको कारपार्कमा बिहान ५ः ५० बजे प्यारामेडिकहरूले सहायताको लागि खबर गरेका थिए। प्रहरी केही मिनेटमै आइपुग्यो र टगरलाई लिभरपुल अस्पताल लगियो जहाँ पछि उनको मृत्यु भयो।
टगरले गत महिना मात्रै आफ्नी प्रेमिकासँग विवाह गरेका थिए। नयाँ जीवन सुरू गर्ने उत्साहसहित उनी सरूवा गरेर दक्षिण-पश्चिम सिड्नीमा आएका थिए।
उनी करिब १२ महिनादेखि सेवामा थिए।
न्यु साउथ वेल्सका स्वास्थ्य सचिव सुसान पियर्सले यो घटना सामान्य नभएर अत्यन्तै दुखद भएको बताएका छन्। प्रधानमन्त्री एन्थोनी अल्बानीजले टगरको मृत्युलाई त्रसिद र दुःखद भनेका छन्।
एक २१ वर्षीय पुरुषलाई घटनास्थलमा गिरफ्तार गरी क्याम्पबेलटाउन पुलिस स्टेशनमा लगिएपछि जासूसहरूले उनलाई हत्याको आरोप लगाए।