मार्चमा अष्ट्रेलियाको बेरोजगार दर स्थिर, पछिल्लो ५० वर्षकै कम भयो बेरोजगार दर


वैशाख ६, मेलबर्न, अष्ट्रेलिया। मार्च महिनामा अष्ट्रेलियाको बेरोजगार दर स्थिर रहेको छ। मार्चमा ३.५ प्रतिशतमा स्थिर रहेको बेरोजगार दर पछिल्लो ५० वर्षकै सबैभन्दा कम हो।

अष्ट्रेलियन ब्यूरो अफ स्ट्याटिस्टिक्स (एबीएस) को पछिल्लो तथ्याङ्क अनुसार अघिल्लो महिना अर्थात् मार्चमा ५३ हजार नयाँ रोजगारी सिर्जना भएका छन्। त्यस्तै, फेब्रुअरीमा भने ६५ हजार नयाँ रोजगारीका अवसर सिर्जना भएको एबीएसको तथ्याङ्कले देखाएको छ।

‘करिब ५३,००० जनाले रोजगारी बढेसँगै बेरोजगारको संख्या १६ सयले घटेर बेरोजगारी दर ३.५ प्रतिशतको ५० वर्षको न्यून बिन्दुमा रह्यो।’ एबीएस प्रमुख श्रम तथ्याङ्क लरेन फोर्डले भने।

अष्ट्रेलियामा रोजगारीमा भएको वृद्धिसँगै रोजगारी–जनसङ्ख्या अनुपात ०.१ प्रतिशत बिन्दुले बढेर ६४.४ प्रतिशत पुगेको छ भने सहभागिता दर ६६.७ प्रतिशत रहेको छ।

‘नोभेम्बर २०२२ मा रोजगारदाताहरूले पदपूर्ति गर्न कामदारहरू पाएका थिएनन्। देशमा कामदारहरूको चरम अभाव थियो। यसले बजारमा कामको अभाव नभएको देखाउँछ। यो एक सकारात्मक संकेत हो।’ फोर्डले भनेका छन्।

रिजर्भ बैंकले अर्को महिनाको बैठकमा अर्को दर वृद्धि वा स्थिर दरहरू लागू गर्ने आफ्नो निर्णयको एक भागको रूपमा रोजगारी डेटा हेर्नेछ।

मार्चमा, मानिसहरूले फेब्रुअरीको तुलनामा थोरै कम घण्टा काम गरेको पाइएको छ।

‘पछिल्लो १२ महिनामा, काम गर्ने घण्टा ५.५ प्रतिशतले बढेको छ। रोजगारीमा ३.३ प्रतिशतले वृद्धि भएको छ। मार्च २०२० देखि काम गर्ने घण्टा ८.४ प्रतिशतले बढेको छ।’ फोर्डले भनेका छन्।

रोजगारीको तुलनामा काम गरेको घण्टाले श्रमको उच्च स्तरको माग देखाउने उनले बताएका छन्।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?