मेलबर्न अष्ट्रेलियाको सबैभन्दा ठूलो सहर, तोडियो सिड्नीको १०० वर्षको अधिपत्य


Photo Credit : Shan S / unsplash.com

वैशाख ६, मेलबर्न, अष्ट्रेलिया । मेलबर्न अष्ट्रेलियाको सबैभन्दा ठूलो सहर भएको छ। करीब १०० वर्षपछि मेलबर्नले सिड्नीको अधिपत्य तोड्न सफल भएको छ। जनसंख्याको आकारको आधारमा मेलबर्न अष्ट्रेलियाको सबैभन्दा ठूलो सहर भएको हो।

सिड्नी सय वर्षभन्दा बढी समयदेखि अष्ट्रेलियाको सबैभन्दा ठूलो सहरको रूपमा रहेको थियो।

पछिल्लो समय मेलबर्न बाहिरका क्षेत्रहरूमा जनसंख्या तीव्र रूपमा बढिरहेको छ। यस बृद्धिलाई समायोजन गर्न शहरले मेल्टनको क्षेत्र समावेश गर्न यसको सीमाहरू विस्तार गरेको छ। यसको मतलब यो हो कि मेल्टनलाई अब मेलबर्नको एक हिस्सा मानिन्छ। जुन पहिले यस सहरको सीमाभन्दा बाहिर थियो।

पछिल्लो सरकारी तथ्याङ्क अनुसार मेलबर्नको जनसंख्या ४८ लाख ७५ हजार ४०० रहेको छ। जुन सिड्नीको भन्दा १८ हजार ७०० ले बढी हो।

अष्ट्रेलियन ब्यूरो अफ स्ट्याटिस्टिक्स (एबिएस)ले १० हजार भन्दा बढी जनसंख्या भएका सबै उपनगरलाई समेटेर शहरी क्षेत्र परिभाषित गरेको छ। उक्त परिभाषा अनुसार २०१८ देखि नै मेलबर्न अष्ट्रेलियाको सबैभन्दा बढी जनसंख्या भएको सहरको रूपमा रहेको छ।

‘२०२१ को जनगणनाको परिभाषासम्म सिड्नीका महत्वपूर्ण क्षेत्रमा मेलबर्न भन्दा बढी जनसंख्या थियो। यद्यपि, पछिल्लो महत्त्वपूर्ण शहरी क्षेत्र वर्गीकरणमा मेलबर्नमा मेल्टनको एकीकरणसँगै मेलबर्नमा २०१८ देखि नै सिड्नीभन्दा धेरै मानिसहरू छन्।’ एबीएसका एन्ड्रयू होवेले सिड्नी मर्निङ हेराल्डसँग भनेका छन्।

एबिएसको डाटा अनुसार  जुन २०२१ सम्म सिड्नी ठूला क्षेत्रहरूको लागि जनसंख्याको हिसाबले मेलबर्न भन्दा ठूलो रह्यो।

अष्ट्रेलियामा ग्रेटर रिजन भने कार्यात्मक क्षेत्रले निर्धारण गर्ने बताइएको छ। यसमा समाजमा घुलमिल हुने जनसंख्या, पसलहरू, सहरमै पाइने काम र सहरको वरीपरी वा ग्रामीण क्षेत्रमा बसोबास गर्नेहरू समावेश हुने एबिएसले उल्लेख गरेको छ।

संघीय सरकारले २०३१-३२ मा ग्रेटर मेलबर्नले ग्रेटर सिड्नीलाई उछिन्ने प्रक्षेपण गरेको छ।

मेलबर्नले अष्ट्रेलियाको सबैभन्दा ठूलो सहर यो नै पहिलो पटक भने होइन।

१९औं शताद्बीमा भिक्टोरियामा व्यापक सुन पाइन्थ्यो। जसले धेरै आप्रवासीहरूलाई यस क्षेत्रमा आकर्षित गर्‍यो। आप्रवासीहरूको संख्या बढ्दै जाँदा मेलबर्न १९०५ सम्म सिड्नीको जनसङ्ख्यालाई उछिनेको थियो।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?