अष्ट्रेलियामा माछा मार्ने समुह गएको थप २ जहाज बेपत्ता भएको शङ्का
वैशाख ७, मेलबर्न, अष्ट्र्रेलिया । पश्चिमी अष्ट्रेलियाको ब्रूमबाट टाढा रहेको एक टापुमा माछा मार्ने समूहको थप २ वटा डुङ्गा बेपत्ता रहेको शंका गरिएको छ। उक्त क्षेत्रबाट ११ जनाको नाटकीय रूपमा उद्धार गरिएपछि इन्डोनेसियाका गाउँलेहरूले थप मानिस बेपत्ता भएको शंका व्यक्त गरेका हुन्।
ती मध्ये दस जना माछा मार्ने एक्सप्रेस नामको जहाजमा गएका थिए। चक्रवात इल्साको विनाशकारी शक्तिका कारण उक्त जहाज उत्तर-पश्चिम क्षेत्रमा समस्यामा परेको पाइएको थियो।
एक्स्प्रेसमा रहेका सबै चालक दलका सदस्यहरू छ दिनसम्म खाना तथा स्वच्छ पानी बिना नै बाँचेको बताइएको छ। उनीहरू गएको जहाज पानीको बहावले किनारमा ल्याएर अड्काइदिएको अष्ट्रेलियाली सीमा बल (एबीएफ) विमानले पत्ता लगाएको थियो।
अलपत्र परेका माछा मार्नेहरूलाई उद्धारका लागि हेलिकप्टरबाट ब्रूममा सारिएको र चिकित्सा सहायता प्राप्त गर्न उद्धार कार्य सुरु गरिएको थियो।
तर पुत्रीजया नामक दोस्रो जलयानमा सवार आठ जना माछा मार्नेहरु डुबेर बेपत्ता भएको शंका गरिएको छ। रोटे टापुका गाउँलेहरूले एउटै समयमा छुटेका २ जहाज सम्पर्कबिहीन भएको एबीसीलाई बताएका छन्। ती जहाजको नाम चाहाया अलोर र तुआन मुडा भएको बताइएको छ।
दुवै जहाजमा कति जना सवार थिए भन्ने खुल्न सकेको छैन। अष्ट्रेलियाली समुद्री सुरक्षा प्राधिकरणले खोजी कार्यका लागि थप रणनीति बनाइरहेको जानकारी दिएको छ।