कतार प्रहरीमा जागिर लगाइदिने भन्दै ६३ लाख ठगी, सप्तरीका पूर्णकुमार पक्राउ


वैशाख ९, काठमाडौँ ।

वैदेशिक रोजगारअन्तर्गत कतारको प्रहरीमा जागिर लगाइदिने प्रलोभन देखाएर एक व्यक्तिले १८ जनासँग ६३ लाख ठगी गरेका छन्।

६३ लाख रुपैयाँ ठगेर फरार भएका सप्तरीको कञ्चनपुर घर भई हाल काठमाडौंको टोखा बस्ने पूर्णकुमार दाहाललाई पक्राउ गरी कारबाही थालिएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रहरी उपरीक्षक सोमेन्द्रसिंह राठौरले बताए।

दाहालले कतारको प्रहरीमा रोजगारी पाइने र त्यसका लागि सात लाख रुपैयाँ लाग्ने भन्दै रकम ठगेको पाइएको छ। दाहालले यसरी रकम ठगी गर्दा त्यहाँको प्रहरीमा जागिर भएपछि मासिक एक लाख रुपैयाँ कमाइ हुने लोभ देखाएका थिए।

पीडितहरुको उजुरीपछि वैदेशिक रोजगार विभागबाट पक्राउ गरीदिन माग भएअनुसार खोजीका लागि खटिएको प्रहरीले उनलाई गएराति झापाबाट पक्राउ गरी आवश्यक अनुसन्धानका लागि आजै वैदेशिक रोजगार विभाग काठमाडौंमा पठाइएको राठौरले जानकारी दिए।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?