उपनिर्वाचन अपडेटः तनहुँ र चितवनमा रास्वपा अगाडी, बारमा उपेन्द्र यादवले लिए अग्रता


वैशाख ११, काठमाडौँ । तनहुँ क्षेत्र नं १ प्रतिनिधिसभा सदस्यको उपनिर्वाचनमा मतगणना जारी छ। जारी मतगणनाअनुसार ५ः३० बजेसम्म ३७ हजार आठ सय ४१ मतगणना गरिएको छ । राष्ट्रिय स्वतन्त्र पार्टीका स्वर्णिम वाग्लेले १९ हजार दुई सय ४९ मत प्राप्त गरेका छन्।

नेपाली कांग्रेसका उम्मेदवार गोविन्द भट्टराईले ११ हजार दुई सय ७९ र नेकपा (एमाले)का सर्वेन्द्र खनालले छ हजार एक सय ५२ मत ल्याएका छन्।

गत मङ्सिर ४ गते भएको प्रतिनिधिसभा निर्वाचनमा तनहुँ–१ बाट नेपाली कांग्रेसबाट निर्वाचित रामचन्द्र पौडेल राष्ट्रपतिमा निर्वाचित भएपछि उपनिर्वाचन भएको हो। कूल एक लाख २३ हजार तीन सय पाँच मतदातामध्ये कूल ६५ हजार ९९ मत खसेको छ। ४२ वटामध्ये हालसम्म २६ वडाको मतगणना सकिएको छ।

उपनिर्वाचनअन्तर्गत चितवन क्षेत्र नम्बर २ मा भइरहेको मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टीका रवि लामिछानेले १७ सय मतको अग्रता लिएका छन्।

मतगणनाको पछिल्लो अपडेटअनुसार रास्वपाका रवि लामिछानेले ४३५८ मत पाउँदा नेकपा एमालेका रामप्रसाद न्यौपानेले २५८५ मतसहित उनलाई पछ्याइरहेका छन्। नेपाली कांग्रेसका जीत नारायण श्रेष्ठ २२०५ मतसहित तेस्रो स्थानमा छन्।

बारा २ को जारी मतगणनामा जसपाका उम्मेदवार उपेन्द्र यादवले अग्रता बढाउँदै लगेका छन्। पछिल्लो मत गणना अपडेट अनुसार यादवले १८७२ मत प्राप्त गर्दा उनका निकटतम प्रतिस्पर्धी जनमत पार्टीका शिव चन्द्र कुशवाहाले १६६१ मत ल्याए।

यस्तै एमालेका पुरुषोतम पौडेलले ७२९ तथा रास्वपाका रमेश खरेलले २६९ मत पाएका छन्। आम जनता पार्टीका अरुण ज्ञवाली १५४ मतका साथ प्रतिस्पर्धामा छन्।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?