६ वर्षीया छोरीको शव जलाएर नष्ट पार्न खोज्ने न्यु साउथ वेल्सका व्यक्ति १२ वर्षपछि जेलबाट रिहा
वैशाख १३, मेलबर्न, अष्ट्रेलिया । आफ्नी छ वर्षीया छोरीको हत्या लुकाउन आफ्नो पार्टनरलाई सहयोग गर्ने न्यु साउथ वेल्सका एक पुरूष १२ वर्षपछि जेलबाट रिहा भएका छन् ।
छोरीको हत्या लुकाउन सहयोग गरेको स्वीकार गरेका रोबर्ट टेरी स्मिथलाई आपराधिक लापरवाही तथा हत्या पछिको तथ्य लुकाउन गरिएको व्यवहारको लागि २०११ मा १६ वर्ष जेल सजाय सुनाइएको थियो ।
उनले त्यतिबेला आफ्नो सजायको विरुद्ध उच्च अदालतमा अपिल गरेनन्।
अहिले ४३ वर्ष भएका रोबर्टले शुक्रबार बिहान दक्षिणी न्यु साउथ वेल्समा रहेको सुधार केन्द्र छोडेको राज्य प्यारोल प्राधिकरणका प्रवक्ताले एएपीसँग पुष्टि गरेका छन् । उनले आफ्नो बाँकी सजाय समुदायमा कडा सर्तहरूको अधीनमा रहेर भुक्तानी गर्नेछन् ।
उक्त समयकी उनकी पार्टनर क्रिस्टी अब्राहम्स छ वर्षीया किशा वेइपर्टको हत्या अभियोगमा दोषी ठहरीएपछि १६ वर्षकै लागि जेल चलान भएकी थिइन् ।
त्यस समयमा अदालतले स्मिथलाई छोरी घाइते भएको र बेहोस भएको थाहा भएता पनि उपचारका लागि नलगेको अभियोग लगाएको थियो । उनले छोरीको शव सुटकेशमा राखेर पेट्रोल छर्किएर जलाएको समेत पुष्टि भएको थियो ।
उनले त्यसपछि प्रमाण नष्ट गर्न पुलिस, मिडिया, र सामुदायिक सेवा विभागलाई झूटा विवरण समेत दिएको न्यायाधीश मेगन लाथमले स्मिथलाई सजाय सुनाउँदा नोट गरेका थिए।
किशाको मृत्युपछि उनको कार्यको वस्तुगत गम्भीरता हत्याको अपराधभन्दा ठूलो भएको बताइएको थियो।
फेब्रुअरीमा राज्य प्यारोल प्राधिकरणले उनलाई रिहा गर्ने प्रारम्भिक मनसाय बनाएपछि स्मिथलाई मार्चमा प्यारोल दिइएको थियो। उसलाई आफ्नो चार वर्षको प्यारोल अवधिमा कडा सर्तहरूको निगरानीमा राखिनेछ। उनले पेनरिथ वा ब्ल्याकटाउन स्थानीय सरकारी क्षेत्रहरूमा प्रवेश समेत गर्न नपाउने बताइएको छ।