नेपाल र अष्ट्रेलियाबीच हवाई उडानबारे छलफल


वैशाख १५, काठमाडाैँ । नेपाल र अष्ट्रेलियाबीच हवाई सम्पर्क सञ्जाल विस्तार र पर्यटन प्रवद्र्धनका लागि साझेदारिताबारे बिहीबार छलफल भएको छ ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराती र नेपालीका लागि अष्ट्रेलियाका राजदूत फेलिसिटी जेन भोकबीच मन्त्रालयमा भएको भेटमा दुई देशबीच हवाई उडान र पर्यटनका विषयमा छलफल भएको पर्यटनमन्त्रीको निजी सचिवालयले जनाएको छ ।

नेपाल र अष्ट्रेलियाबीच हवाई सम्पर्क सञ्जाल विस्तारका लागि यसअघि नै प्रक्रिया अघि बढिसकेको छ । यसका लागि मन्त्रालयमा कार्ययोजना समेत पेश भइसकेको छ ।

अष्ट्रेलियामा सिधा उडानका लागि नेपाल वायुसेवा निगमका प्रवक्ता रमेश पौडेलले प्रक्रिया अघि बढाइएको जानकारी दिए । “सरकारले वायुसेवा निगमलाई अष्ट्रेलिया उडानका लागि आधिकारिक एयरलाइन्स तोकेको छ”, उनले भने, “अष्ट्रेलियामा हवाई उडानका लागि आवश्यक प्रक्रिया अघि बढाइएको छ ।”

सन् २०१९ मा नेपाल र अष्ट्रेलियाबीच द्विपक्षीय हवाई सेवा सम्झौता भएको थियो । नेपालले हालसम्म ४० मुलुकसँग द्विपक्षीय हवाई सेवा सम्झौता गरिसकेको छ ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?