अष्ट्रेलियाको नेपाली दूतावासको पासपोर्ट इनरोलमेन्ट सर्भरमा समस्या, एक हप्तासम्म खुलेन सिस्टम
वैशाख १९, मेलबर्न, अष्ट्रेलिया । अष्ट्रेलियामा पासपोर्ट बनाउने व्यक्तिहरूका लागि खोलिने प्रि-इनरोलमेन्ट बुकिङमा समस्या देखिएको छ। हरेक दिन खुलाउने प्रि-इनरोलमेन्ट सिस्टममा सोमबार अर्थात् अप्रिल २६ तारिखबाट समस्या देखिएता पनि एक हप्तासम्म खुलाउन सकिएको छैन।
क्यानबेरास्थित नेपाली राजदूतावासले समस्या यकिन नभएको बताउँदै काठमाडाैँमा सम्पर्क गरी चाँडै प्रि-इनरोलमेन्ट बुकिङ खुलाउने प्रयास भइरहेको जानकारी दिएको छ।
नेपालमै पनि पासपोर्ट बनाउने समन्धित निकायका सर्भरहरूमा समस्या देखिइरहने गरेका छन्। यसबाट सयाैँ सेवाग्राही मर्कामा परिरहँदा अष्ट्रेलियामा समेत सर्भरको समस्या उस्तै देखिएको छ।
गत महिना अष्ट्रेलियाको राजदूतावासले त्यहाँ रहेका नेपालीहरूले दिएको आवेदनको अनुसार पासपोर्ट तयार गरि वितरण सुरू गरिसकेको छ। तर, नयाँ इनरोलमेन्ट नहुँदा नयाँ सेवाग्राही समस्यामा परेका छन्।