अष्ट्रेलियाको भिसा आवेदन शुल्क बढ्ने, विद्यार्थी भिसा शुल्क ६५ डलरले बढ्दै


वैशाख २९, मेलबर्न, अष्ट्रेलिया । अष्ट्रेलियाको भिसा आवेदन शुल्क बढ्ने भएको छ। मंगलबार सरकारले ल्याएको बजेटमा आगामी जुलाई १ देखि ६ देखि ४० प्रतिशतसम्म भिसा आवेदन शुल्क बढ्ने भएको हो।

सरकारले बजेट भाषणमा नयाँ भिसा आवेदन शुल्कबाट ६६५ डलर राजश्व उठ्ने प्रक्षेपण गर्दै उक्त रकम भिसा प्रक्रिया थप सहज बनाउन खर्च गरिने बताएको छ।

गत वर्षको निर्वाचनमा जित हासिल गरेपछि एन्थोनी अल्बानिजको सरकारले भिसा प्रशोधन समय घटाउने कामलाई केन्द्रित गरेको छ।

सबक्लास भिसाहरू भिजिटर, वर्किङ होलिडे, वर्क एण्ड होलिडे, ट्रेनिङ, टेम्पोरी एक्टिभिटि र सर्ट स्टे स्पेशियालिस्ट भिसा आवेदन शुल्क १५ प्रतिशतले बढ्ने भएको छ।

यसैबीच, व्यावसायिक नवप्रवर्तन र लगानी भिसाका लागि आवेदन शुल्क भने ४० प्रतिशतले बढ्ने भएको छ।

प्यासिफिक इन्गेजमेन्ट भिसा र प्यासिफिक अष्ट्रेलिया लेबर मोबिलिटी योजनाका लागि शुल्कहरू भने समान रूपमा नबढाइने बताइएको छ।

अष्ट्रेलियाको माइग्रेसन इन्स्टिच्युटका राष्ट्रिय उपाध्यक्ष कोन प्याक्सिनोसले यो वृद्धि सरकारको तल्लो तहका लागि राम्रो हुने तर अष्ट्रेलिया आउन चाहने परिवारहरूका लागि भने असहज हुने बताएका छन्।

सरकारको बजेट भाषणमा विद्यार्थी भिसा आवेदन शुल्क समेत बढ्ने उल्लेख गरिएको छ।  जुलाई १ देखि विद्यार्थीहरूले भिसा आवेदन दिँदा ६५ डलर बढी शुल्क तिर्नुपर्ने भएको छ। यो वृद्धिसँगै  विद्यार्थी भिसा आवेदन शुल्क ७१५ डलर पुग्ने भएको छ।

त्यस्तै, पर्यटकीय भिसामा ४० डलर बढ्दै १९० डलर र ब्यागप्याकिङ भिसामा १३० डलर बढ्दै ६४० डलर शुल्क तिर्नुपर्ने भएको छ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?