नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका १६ जनालाई तीन दिन हिरासतमा राख्न अनुमति
जेठ ७, काठमाडाैँ । नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने गिरोहमा संलग्न अभियुक्तलाई तीन दिन हिरासतमा राख्न जिल्ला अदालत काठमाडौंले अनुमति दिएको छ । उक्त अभियोगमा पक्राउ परेका १६ जनालाई म्याद थपका लागि अदालत उपस्थित गराइएको थियो ।
जिल्ला सरकारी वकिल कार्यालयका न्यायाधीवक्ता लक्ष्मण उपाध्यायका अनुसार प्रहरीले पाँच दिनको म्याद थप गर्न सिफारिस गरेको थियो । तर, तीन दिनको मात्रै अनुमति पाएको जानकारी दिइएको छ ।
प्रहरीले जिल्ला अदालतबाट म्याद थप गरेर अनुसन्धान प्रतिवेदन जिल्ला सरकारी वकिलको कार्यालयमा बुझाउने तयारी गरेको छ।
पीडितको उजुरीका आधारमा नेपाल प्रहरीले चैत १२ गतेदेखि नक्कली भुटानी शराणार्थी प्रकरणको अनुसन्धान सुरु गरेको थियो ।