फेन्काले अष्ट्रेलियामा अन्तर्राष्ट्रिय सगरमाथा दिवस आयोजना गर्ने


जेठ ११, मेलबर्न, अष्ट्रेलिया । अष्ट्रेलियाको नेपाली सामुदायिक संघ महासंघ (फेन्का)ले अन्तरराष्ट्रिय सगरमाथा दिवस मनाउने भएको छ। मे २८ तारिखमा फेन्काले अन्तरराष्ट्रिय सगरमाथा दिवस मनाउने भएको हो।

फेन्का र यसका सदस्य संस्थाहरूले पनि यस वर्ष अष्ट्रेलियाका सबै राज्य र क्षेत्रहरूमा अन्तर्राष्ट्रिय सगरमाथा दिवस मनाउँदैछन्। मे २८ मा बिहान ८ः ३० बजे हेन्ले मरिन (टेम्ब्रेल पार्क)मा यो कार्यक्रम आयोजना हुने भएको छ।

नेपाली अष्ट्रेलियन एसोसियसन (एएनएन)को प्रतिनिधित्व गर्ने तथा फेन्काका महासचिव डा मधु पुडासैनीले सगरमाथा आरोहणको सम्झनामा यो दिवस मनाउन लागेको बताएका छन्। सगरमाथाको संरक्षण र नेपालको पर्यटन सम्भावनालाई प्रवर्द्धन गर्ने यो कार्यक्रमको उद्देश्य भएको पुडासैनीले बताएका छन्।

फेन्काले नेपाल र प्रवासी नेपाली लगायत सबै नेपालीको हितमा आफ्ना सदस्य संस्थाहरूको सहयोगमा आयोजना गर्ने दुईवटा घटनाहरूमध्ये यो एउटा कार्यक्रम भएको पनि उनले बताएका छन्।

न्यूजिल्याण्डका सर एडमन्ड हिलारी र नेपालका तेन्जिङ नोर्गे शेर्पाले सन् १९५३ मे २९ मा सगरमाथाको सफल आरोहण गरेका थिए।

२००८ मा सर एडमन्ड हिलारीको निधन पछि नेपालले यो दिनलाई अन्तर्राष्ट्रिय सगरमाथा दिवसको रूपमा मनाउने आधिकारिक निर्णय गरेको थियो। त्यसपछि देश तथा विदेशमा पर्वतारोहीहरू सहित अन्य व्यक्तिहरूले यस दिनलाई उत्सवको रूपमा मनाउने गर्दछन्।

यो वर्ष अष्ट्रेलियामा बसोबास गर्ने नेपाली मूलका व्यक्तिहरूको प्रतिनिधित्व गर्ने नेपाली सामुदायिक संस्थाहरूको राष्ट्रिय समन्वय गर्ने निकाय फेन्काले अन्तर्राष्ट्रिय सगरमाथा दिवस मनाउन पहल गरेको हो।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?