अष्ट्रेलियामा लोकप्रीय यी ब्रान्डका कारहरूमा समस्या, तत्काल मर्मत गर्न अनुरोध
जेठ २१, मेलबर्न, अष्ट्रेलिया । अष्ट्रेलियामा लोकप्रीय ब्रान्डका कारहरूमा समस्या देखिएको छ। समस्याका कारण सुरक्षा चुनाैतिको त्रास बढेपछि तत्काल मर्मतका लागि लग्न अनुरोध गरिएको छ।
मित्सुबिसीले २०२२ र २०२३ मा आउटल्याण्डर र हाइब्रिड आउटल्याण्डर एसयुभी खरिद गरेका ग्राहकहरूलाई समस्या देखिएको रियर भ्यु क्यामेरा तत्काल मर्मत गर्नका लागि डिलरसँग सम्पर्क गर्न आग्रह गरेको छ।
पूर्वाधार, यातायात, क्षेत्रीय विकास, सञ्चार तथा कला विभागले जारी गरेको रिकल सूचनाअनुसार २५ हजारभन्दा बढी सवारी साधन प्रभावित भएका छन्।
सफ्टवेयरमा समस्या भएका कारण गाडी रिभर्स गर्दा स्पष्ट नदेखिने बताइएको छ। जसका कारण ठूलो दुर्घटना समेत हुनसक्ने बताइएको छ।
मित्सुबिशीले प्रभावित मालिकहरूलाई मेल मार्फत सचेत गराउनेछ र उनीहरूलाई नि:शुल्क मर्मतका लागि स्थानीय डिलरलाई सम्पर्क गर्न अनुरोध गर्नेछ।
त्यसैगरी, कियाले पनि १० हजारभन्दा बढी कार्निभल कारहरू फिर्ता बोलाएको छ।
२०२० देखि २०२३ सम्म निर्मित पावर स्लाइडिङ ढोका भएका केही मोडेलका गाडीहरूमा ढोकाहरू चलाउँदा यात्रुहरूलाई सचेत गराउने प्रणालीमा समस्या देखिएको बताइएको छ।
कियाले प्रभावित मालिकहरूलाई उनीहरूको स्थानीय डिलरशिपलाई सकेसम्म चाँडो सम्पर्क गरेर निः शुल्क समस्या समाधान गर्न आग्रह गरेको छ।
त्यसैगरी, टाइमिङ बेल्टको समस्याका लागि करिब ३ हजार सिट्रोन र प्युजो गाडी फिर्ता बोलाइएको छ। यो समस्याका कारण ब्रेकिङ सिस्टममा समस्या हुने भएका कारण तत्काल मर्मत गर्न फ्रेन्च कम्पनीले अनुरोध गरेको छ।