काफल बेच्दै कलमकापीको जोह गर्दै बालबालिका


जेठ २१, सिन्धुपाल्चोक । साना साना डालो, डालोभरि पाकेका राता काफल बोकेर करिब ५ घण्टाको पैदल हिँडेर सदरमुकाम झर्ने गर्छिन् डोल्मा तामाङ। उमेरको गणितले भर्खर ११ वर्ष लाग्दै गरेकी तामाङ वैशाख लागेयता यसरी नै हरेक शनिबार काफल बेच्न सदरमुकाम चौतारा धाउने गर्छिन्।

डालोको काफल बेच्दै उनी चौतारा अस्पतालदेखि पुरानो बजारसम्म पुग्ने गर्छिन्। काफल बेचेर आएको पैसालाई उनले सदरमुकाम चौतारामा नै कापी कलम किन्छिन् र खुशी हुँदै घर फर्कन्छिन्।

१२ वर्षीय काजी तामाङको शनिबारे बसिवियाँलो पनि डोल्माको जस्तै छ। उनी पनि डोलोभरि काफल बोकेर यसरी नै हरेक शनिबार सदरमुकाम झर्ने गर्छन् र काफल बेचेको पैसाले त्यसरी नै कापी कलम बोकेर माथि लेक आफ्नो घर सेलाङ फर्कन्छन्।

काफल पाक्ने मौसम सुरु भएपछि यसरी नै जिल्लाका विकट गाउँपालिका जुगल, सेलाङका विद्यार्थी बालबालिकाहरु कापी कलमको जोह गर्न काफल बोकेर लस्करै सदरमुकाम चौतारा झर्ने गर्छन्।

‘घरमा दुख छ हामीलाई पढ्ने मन छ तर कापि कलम नहुँदा राम्ररी पढ्न पाउँदैनौं, तामाङले दुखेसो पोखे, ‘के गर्नु बुबाआमाको राम्रो कमाई छैन।’ हुन पनि तामाङको बुबाआमाको भरपर्दो आम्दानीको स्रोत छैन पनि । खेतीपातीमा निर्भर उनीहरुलाई त्यसको आम्दानीबाट ६ महिना खान पनि पुग्दैन। त्यसैले पनि सेलाङ र सिम्पालकाभ्रेका बालबालिकाहरु अरु दिन विद्यालय जाने र शनिबार काफल बेच्न बजार झर्ने गर्दछन्।

त्यसो त उनीहरुलाई काफल बेच्न अरु बार पनि सदरमुकाम झर्न मन छ। तर, विद्यालय छोडर काफल बोकेर हिँड्नु राम्रो नभएको डोल्मा तामाङ बताउँछिन् । ‘अरु बार त स्कूल जान परिहाल्यो नि,’ उनले भनिन्। सेलाङबाट चौतारा र चौताराबाट सेलाङ नियमित बस पनि सञ्चालन हुँदै आएको छ। तर, काफल बेचर आएको पैसा बसभाडा तिरेरै सकिने डरले उनीहरु ४ घण्टा पैदल नै आवतजावत गर्ने गर्छन्। १३ वर्षिया म्हीनु तामाङ काफल बेचर आएको पैसाले कापी कलम किन्नु पर्ने भएकोले बस नचढेको बताउँछिन्।

सरकारले मावि तहसम्मको शिक्षालाई निस्शुल्क त बनाएको छ। तर, फेरि पनि शैक्षिक सामाग्रीको जोहो गर्न नसक्दा कतिपय बालबालिकाहरु विद्यालय छाड्ने गर्छन् भने कतिपय आफैँ श्रम गर्न विवश छन्। शिक्षासँगै मनोरञ्जन पनि बालबालिकाको अधिकार हो। तर, जिल्लाका विकट एवम् ग्रामीण क्षेत्रका बालबालिकाहरु मनोरञ्जनमा समय व्यतित गर्नु पर्ने विदाको दिनमा पनि कापीकलमको जोह गर्न मनोरञ्जनको साटो श्रम गर्न बाध्य छन्। निस्शुल्क शिक्षासँगै सरकार वा सरोकार निकायले निस्शुल्क शैक्षिक सामाग्री पनि विद्यार्थीहरुलाई उपलव्ध गराउने हो भने यसरी कलिलो उमेरमा काफल बेच्नु पर्ने बाध्यता कुनै पनि बालबालिकामाथि आइपर्ने थिएन।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?