अष्ट्रेलियामा कामदारहरूको तलब बढ्ने, अब कति हुन्छ हप्ताको न्युनतम कमाइ ?
जेठ २२, मेलबर्न, अष्ट्रेलिया । अष्ट्रेलियामा कामदारहरूको तलब बढ्ने भएको छ। फेयर वर्क कमिसनले आगामी जुलाई १ तारिखदेखि न्युनतम पारिश्रमिकमा ५.७५ प्रतिशत वृद्धि गर्ने निर्णय गरेको हो।
यस निर्णयसँगै करीब २३ लाख व्यक्तिहरू लाभान्वित हुने भएका छन्।
शुक्रबार जारी भएको वार्षिक ज्याला समीक्षा निर्णयले न्यूनतम पारिश्रमिक प्रति हप्ता ८८२.८० डलर बनाउने भएको छ। यो तलबमान भनेको प्रतिघण्टा २३.२३ डलर हो। त्यस्तै, करीब १ लाख ८० हजार कर्मचारीहरूको तलब भने ८.६ प्रतिशतले वृद्धि हुने भएको छ।
“हामीलाई विश्वास छ कि हामीले निर्णय गरेको वृद्धिले २०२३-२४ मा समग्र ज्याला वृद्धिमा थोरै योगदान गर्नेछ,” फेयर वर्क कमिसनका अध्यक्ष एडम ह्याचरले भने।
गत वर्ष न्युनतम पारिश्रमिक ५.२ प्रतिशतले बढेको थियो। उक्त वृद्धिबाट प्रत्येक ४ मध्ये एक कामदार लाभान्वित भएका थिए। यी कामदाहरूले कुल राष्ट्रिय ज्यालाको ११ प्रतिशत हिस्सा ओगटेका छन्। यद्यपी, तर त्यो वृद्धिले कुल ज्याला वृद्धिको १०% भन्दा कम योगदान गरेको ह्याचरले बताए।
पछिल्ला वर्षहरूमा कामदारहरूको तलब वास्तविक सर्तहरूमा घट्दै गएको छ। यसको मतलब उनीहरूले प्राप्त गरेको तलब वृद्धिले बढ्दो बजारमूल्यसँग जुध्न सकिरहेको छैन। यस वर्षको मार्चमा तलब ३.७ प्रतिशतले बढ्दा महँगी भने ७ प्रतिशतले उकालो लागेको थियो।
रोजगार मन्त्री टोनी बर्कले आयोगको निर्णयलाई अहिलेसम्म गरेका कामदारहरूको लागि सबैभन्दा राम्रो निर्णय भन्दै स्वागत गरेका छन्।
“अझै पनि कम पारिश्रमिकको शृङ्खलाहरू छन् र हामी यो वर्षको दोस्रो चरणान त्यसलाई सम्बोधन गर्न चाहन्छौं,” उनले भने।
रिजर्भ बैंकको बोर्ड बैठकले ब्याज दरमा निर्णयमा तलब बढाउने निर्णयको प्रभावको मूल्याङ्कन गर्नेछ।
अष्ट्रेलियाली चेम्बर अफ कमर्स एण्ड इन्डस्ट्रीका प्रमुख कार्यकारी एन्ड्रयु म्याकेलरले ज्याला वृद्धिले वार्षिक ज्याला बिलमा १२.६ बिलियन डलर थपिने बताए। यसले विशेष गरी साना व्यवसायहरूलाई दबाब दिनेछ।