आगामी वर्ष टेस्ट क्रिकेट करियरबाट सन्यास लिने योजनामा डेभिड वार्नर
जेठ २२, मेलबर्न, अष्ट्रेलिया । डेभिड वार्नरले आउँदो वर्ष सिड्नीमा अन्तिम खेल खेल्दै टेस्ट करियरबाट सन्यास लिने योजना रहेको खुलासा गरेका छन्। अष्ट्रेलियाले जनवरीमा पाकिस्तानलाई खेलका लागि बोलाएपछि उक्त खेल नै अन्तिम टेस्ट हुनसक्ने वार्नरले खुलासा गरेका हुन्।
वार्नरले अर्को हप्ता ओभलमा भारत विरुद्धको विश्व टेस्ट च्याम्पियनसिपको फाइनल अघि बेकनहममा मिडियासँग कुरा गर्दै सन्यासको पाटोबारे पनि केही खुलासा गरेका हुन्।
न्यु साउथ वेल्सका ३६ वर्षीय खेलाडीले पाकिस्तानविरुद्धको शृङ्खलापछि वेस्ट इन्डिजविरुद्धको दुई घरेलु टेस्ट खेल्ने योजना बनाएका छन्। यद्यपि, उनी अझै पनि वेस्ट इन्डिज र अमेरिकामा हुने २०२४ को टी-२० विश्वकपसम्म खेल्ने मनसायमा नै रहेका छन्।
उनले भनेका छन्, ‘मैले सधैँ भन्ने गरेको छु २०२४ को टी-२० विश्वकप मेरो अन्तिम विश्वकप हुन सक्नेछ। मैले यहाँ रन बनाउनमा ध्यान केन्द्रित गर्नुपर्छ र आफ्नो र मेरो परिवारको लागि अष्ट्रेलियामा क्रिकेट खेल्न जारी राख्नुपर्छ।’
उनले वेस्ट इन्डिजविरूद्धको सिरिज खेल्ने कुनै योजना नै नरहेको पनि प्रष्ट पारेका छन्।
उनको ब्याटिङ प्रदर्शनमा हालैको संघर्षको बाबजुद वार्नरलाई विश्व टेस्ट च्याम्पियनसिप फाइनल र एसेजका लागि अष्ट्रेलियाको टोलीमा छनोट गरिएको छ।
बायाँ हाते ब्याटरले पछिल्ला ३२ इनिङ्समा जम्मा एक पटकमात्रै १०० रन बनाएका छन्। अष्ट्रेलियाको फेब्रुअरी र मार्चमा भारत भ्रमणमा उनले ८.८८ को औसतमा २६ रन मात्रै जोडेका थिए।
वार्नरले बोर्डर-गावस्कर ट्रफी शृंखलामा मात्र तीन पटक ब्याटिङ गरेका थिए। अनुभवी खेलाडीले कुहिनो भाँचिएको र चोट लागेपछि दोस्रो टेस्टबाट नाम फिर्ता लिएका थिए।
वार्नर २०१६ मा अष्ट्रेलियन टेस्ट क्रिकेट प्लेयर अफ दि इयर चुनिएका थिए। उनले २०१४ देखि २०१७ सम्म लगातार टेस्ट टिम अफ दि इयरमा समावेश भएका थिए। त्यसैगरी, टेस्ट टिम अफ दि डिकेड (२०११-२०२०) मा पनि उनी पर्न सफल भएका थिए।