उँटसँग ठोक्किएर क्वीन्सल्याण्डमा स्कुल बस दुर्घटना, चालकको घटनास्थलमै मृत्यु


जेठ २२, मेलबर्न, अष्ट्रेलिया । सेन्ट्रल क्वीन्सल्याण्डमा स्कुल बस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ।

रकह्याम्पटन नजिकैको नानकिन फार्मबाट भागेका दुईवटा ऊँट गाडीसँग ठोक्किँदा सोमबार बिहान उक्त दुर्घटना भएको बताइएको छ। प्रारम्भिक अनुसन्धानबाट गाडी चालकले उँटलाई बचाउन खोजेको जस्तो देखिएको प्रहरीले जानकारी दिएको छ।

दुर्घटना थम्पसन प्वाइन्ट रोड नजिक इमु पार्क रोडमा भएको थियो। उक्त दुर्घटनापछि केही समयमा लागि दुइतर्फी रूपमा नै सडक बन्द गरिएको थियो।

चालकले उक्त बस चलाउन सुरू गरेको केही क्षणमा नै दुर्घटना भएको अनुमान गरिएको छ। अर्का चालक सोमबार बिहान घटनास्थलमा आएर अधिकारीहरूलाई दुर्घटनाबारे जानकारी गराएका थिए।

उक्त दुर्घटनामा २ वटै उँट पनि मरेका छन्।

ठक्करको समयमा बसभित्र बस चालक मात्रै रहेको प्रहरीले जनाएको छ। भेटेरान उँट रेसर र ब्रीडर जोन रिचर्डसनले घटनामा उनका जनावरहरू संलग्न भएको प्रहरीले जानकारी दिएको बताएका छन्।

उनले पालेका ४ वटा उँटहरू भागेको बताएका छन्। २ वटा राजमार्गतर्फ लागेका थिए जहाँ दुर्घटना भयो।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?