काममा जाँदै गरेका नेपालीमाथि सिड्नीमा छुरा प्रहार


जेठ २८, मेलबर्न, अष्ट्रेलिया । सिड्नीमा एक जना नेपाली माथि छुरा प्रहार भएको छ। काममा गइरहेको अवस्थामा नेपालीमाथि छुरा प्रहार भएको हो।

जुन १० तारिख शनिबारको दिन बस चढेर काममा गइरहेको अवस्थामा नेपालीमाथि सिड्नीको डार्लिङहर्टस्मा छुरा प्रहार भएको हो। पीडित नेपाली व्यक्ति ३५ वर्षका रहेको बताइएको छ। पीडित व्यक्तिले शरीरका पाँच ठाउँमा छुरा प्रहारका कारण चोट लागेको एक मिडियासँग बताएका छन्।

उनले बताए अनुसार हात, टाउको र चिउँडोमा चोट लागेको छ। सेन्ट भिन्सेन्ट अस्पतालमा गरिएको सामान्य उपचारपछि उनी घर फर्किएका छन्।

न्यु साउथ वेल्स प्रहरीले छुरा प्रहार गरेको अभियोगमा १९ वर्षीय व्यक्ति पक्राउ परेको जानकारी दिएको छ। उनीमाथि अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।

पछिल्लो समय अष्ट्रेलियामा हतियार प्रहार गरिने हिंसाहरू बढ्दै गइरहेका छन्। हप्तामा कम्तीमा एउटा यस्ता घटना रिपोर्ट भइरहेको प्रहरीको तथ्याङ्क छ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?