अष्ट्रेलिया बस दुर्घटना : बस चालकले पाए जमानतमा रिहाइ


जेठ ३०, मेलबर्न, अष्ट्रेलिया। न्यु साउथ वेल्सको हन्टर क्षेत्रमा भएको बस दुर्घटनाका चालक जमानतमा रिहा भएका छन्। सोमबार नै प्रहरी नियन्त्रणमा पुगेका उनलाई जमानतमा रिहा गरिएको हो।

सोमबार हन्टर क्षेत्रमा विवाहबाट फर्किरहेका यात्रुहरू सवार बस दुर्घटना हुँदा १० जनाको मृत्यु भएको थियो। सोही दुर्घटनामा परी अन्य २५ जना घाइते भएका थिए।

५८ वर्षीय ब्रेट बटनले मंगलबार बिहान सेसनक स्थानीय अदालतको सामना गरेका थिए। त्यहाँबाट उनले शर्त सहितको जमानती रिहाइ पाएका हुन्।

बटनलाई बेलुका ८ः ३० बजेदेखि बिहान ६ बजेसम्म हिँडडुल गर्न नपाउने, हप्ताको २ दिन पुलिस अफिसमा हाजिर हुनुपर्ने, आफ्नो पासपोर्ट प्रहरीमा बुझाउनुपर्ने, मादक पदार्थ सेवन गर्न नपाइने, १० हजार डलर धराैटि तिर्नुपर्ने र गाडी चलाउने नपाउने शर्तमा बाँधिकएको छ।

मजिस्ट्रेटले कडा सर्तमा जमानत दिएपछि उनको परिवार अदालत परिसरमा खुशी देखिएका थिए।

अष्ट्रेलियामा पछिल्ला केही समयमा भएको यो नै सबैभन्दा ठूलो दुर्घटना हो। कारहरू दुर्घटना लगभग दिनदिनै भएता पनि अष्ट्रेलियामा ठूला बस दुर्घटना अत्यन्तै कम हुने गरेका छन्।

यस घटनाप्रति प्रधानमन्त्री एन्थोनी अल्बानिजले दुःख व्यक्त गरेका छन् भने मंगलबारको बैठकमा संसदमा एक मिनेट माैनधारण समेत गरिएको छ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?