विश्वका उत्कृष्ट एयरलाइन्सको सुची सार्वजनिक, कति स्थानमा परे अष्ट्रेलियाका चर्चित एयरलाइन्स ?
असार ८, मेलबर्न, अष्ट्रेलिया । विश्वका उत्कृष्ट एयरलाइन्स कम्पनीहरूको सुची सार्वजनिक भएको छ । तर, यो पटक अष्ट्रेलियाको सबैभन्दा ठूलो एयरलाइन्स क्वान्टास भने उत्कृष्टको सुचीमा १० भन्दा पनि पछाडी परेको छ।
अष्ट्रेलियाको सबैभन्दा ठूलो क्यारियर गत वर्ष विश्वको पाँचौं उत्कृष्ट एयरलाइन मानिएको थियो तर यो वर्ष १२ स्थान झरेर १७ औँ स्थानमा पुगेको छ।
क्वान्टासले फिजी एयरवेजसँग ‘बेस्ट एयरलाइन इन अस्ट्रेलिया/प्यासिफिक’ को उपाधि पनि गुमाएको छ। पेरिसमा घोषणा गरिएको स्काइट्र्याक्सको “उडन उद्योगको ओस्कार” मानिने यो अवार्ड अष्ट्रेलियन कम्पनीका लागि भने सुखद् हुन सकेन।
जेटस्टार ५७ बाट ६९ र भर्जिन अष्ट्रेलिया ४३ बाट ४६ मा झरेको छ।
तर, अष्ट्रेलियाको क्षेत्रीय एयरलाइन्स रेक्सले वरियताको ७२ स्थानबाट ५६ औँ स्थानमा उक्लिँदै ‘अष्ट्रेलिया/प्यासिफिकमा उत्कृष्ट क्षेत्रीय वायुसेवा’ को उपाधि हात पारेको छ।
पुरस्कारहरू १०० भन्दा बढी राष्ट्रहरूका २ करोड भन्दा बढी यात्रुहरूको सर्वेक्षणमा आधारित भएर प्रदान गरिएको जानकारी दिइएको छ।
यो सर्वेक्षण सेप्टेम्बर २०२२ देखि मे २०२३ को बीचमा गरिएको थियो। विश्वका हरेक एयरलाइन्स यस प्रकृयामा सहभागी गराइएका थिए।
यो वर्ष सिंगापुर एयरलाइन्स सर्वोत्कृष्ट हुन सफल भएको छ। उक्त एयरलाइन्सको २३ वर्षे इतिहासमा यो पाँचाै विश्वकै उत्कृष्ट एयरलाइन्सको अवार्ड हो।