सांस्कृतिक केन्द्र निर्माणका लागि एएनएमसीले सुरू गर्यो सहयोग सङ्कलन


असार ८, मेलबर्न, अष्ट्रेलिया । अष्ट्रेलियन नेपाली मल्टिकल्चरल सेन्टर (एएनएमसी)ले भिक्टोरियामा बन्ने सांस्कृितक भवन निर्माणका लागि सहयोग संकलन सुरू गरेको छ। गोफन्डमीमार्फत एएनएमसीले उक्त भवन निर्माणार्थ सहयोग संलकन गरेको हो।

२०१९ मा एएनएमसीले डन्कान्स लेनमा १५ एकड जमिन खरिद् गरेर यस योजनाका लागि ठूलो लगानी गरेको थियो। सुरूमा आवासीय भवन निर्माण गर्ने तयारी भएता पनि विशेष कारणले उक्त प्रस्ताव नेपाली समुदायहरूका लागि पवित्रस्थल निर्माण गर्नेतर्फ उन्मुख भएको थियो।

पछिल्ला महिनामा एएनएमसीले उक्त भवन निर्माण प्रक्रियामा ठूलो फड्को मारेको छ। सञ्चार तथा सामाजिक सञ्जालमार्फत एएनएमसीले यसबारे जानकारी गराइरहेको छ।

अहिलेसम्म नेपाली समुदायले दिएको साथ र सहयोगका लागि एएनएमसीले धन्यवाद समेत ज्ञापन गरेको छ।

उक्त भवन निर्माणका लागि भिक्टोरिया राज्य सरकारले पनि ठूलो सहयोग गरेको छ। आवासीय भवनलाई सांस्कृतिक थलोमा परिणत गर्नका लागि राज्य सरकारबाट योजना तथा भवन निर्माण अनुमति एएनएमसीले पाइसकेको छ।

एएनएमसीले लिएको महत्वपूर्ण लक्ष्यका लागि ठूलो रकमको आवश्यकता भएका कारण आर्थिक संकलन गर्न लागेको एएनएमसीले जानकारी दिएको छ। प्रारम्भिक चरणको निर्माण कार्य सक्नका लागि ५० हजार लाग्ने अनुमान गरिएको छ। यसैका लागि अहिले गोफन्डमी मार्फत सहयोग संकलन जारी रहेको छ।

अहिलेसम्म उक्त अभियानमा ३७ जना दाताहरूले ४ हजार २२४ डलर सहयोग गरेका छन्। एएमएनसीले सहयोगका लागि सबै नेपाली व्यक्ति, संघ तथा संस्थालाई आह्वान गरेको छ।

अष्ट्रेलियामा बन्ने उक्त सांस्कृितक भवनमा सहयोग गर्न इच्छुकहरूले यहाँ क्लिक गरेर गोफन्डमीमा जान सक्नुहुनेछ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?