एक वर्षमा कति तलब लिन्छन् अष्ट्रेलियाका शीर्ष नेताहरू ? कति छ प्रधानमन्त्रीको तलब ?
असार १०, मेलबर्न, अष्ट्रेलिया । अहिले विश्वव्यापी मूल्य वृद्धिको समस्या छ । यो समस्याबाट अष्ट्रेलिया पनि अछुतो रहन सकेको छैन। यही समस्या सम्बोधन गर्नका लागि अष्ट्रेलियाले जुलाइ १ तारिखदेखि न्युनतम पारिश्रमिक बढाउने घोषणा गरिसकेको छ।
पारिश्रमिक वृद्धि र तलबको सवालमा सबैलाई लाग्न सक्छ अष्ट्रेलियामा राजनीतिज्ञहरूको तलब कति होला त ? यही विषयमा अष्ट्रेलियाका सञ्चारमाध्यमहरूको सहयोगमा एक रिपोर्ट तयार गरिएको छ। जसमा अष्ट्रेलियाका प्रमुख राजनीतिज्ञहरूको सुची छ जसले वार्षिक सबैभन्दा धेरै पैसा कमाउँछन्।
१. प्रधानमन्त्री
सबैभन्दा धेरै वार्षिक तलब भएका राजनीतिज्ञमा अष्ट्रेलियाको प्रधानमन्त्री पद पर्छ। यो हिसाबले अहिले अष्ट्रेलियामा सबैभन्दा धेरै वार्षिक तलब लिने राजनीतिज्ञ एन्थोनी अल्बानिज हुन्। उनको वार्षिक तलब ५ लाख ६४ हजार ३६० डलर रहेको छ।
उनी विश्वमै सबैभन्दा धेरै वार्षिक तलब पाउने पाचाैँ नेता समेत हुन्।
२. उप-प्रधानमन्त्री
तहगत हिसाबमा समेत प्रधानमन्त्री पछिको यस पदमा रहने व्यक्तिले वार्षिक ४ लाख १६ हजार २१२ डलर अष्ट्रेलियन डलर कमाउँछन् । वर्तमान अवस्थामा अष्ट्रेलियाका उपप्रधानमन्त्री रिचार्ड मार्ल्स सबैभन्दा धेरै तलब पाउने नेताको दोश्रो स्थानमा रहेका छन्।
३. प्रमुख प्रतिपक्षी दलका शीर्ष नेता
अष्ट्रेलियामा प्रमुख प्रतिपक्षी दलका शीर्ष नेताको तलब तेश्रो धेरैमा पर्छ । प्रमुख प्रतिपक्षी दलका शीर्ष नेताको वार्षिक तलब ३ लाख ९० हजार डलर हुन्छ । अहिलेको अवस्थामा पिटर डटन वार्षिक सबैभन्दा धेरै तलब पाउने नेताको तेश्रो स्थानमा छन्।
४. सांसदहरू (ब्याकबेन्चर्स)
अष्ट्रेलियामा सांसदहरूको तलब पनि उच्च कोटीको नै हुने गर्दछ। अष्ट्रेलियन मिडियाका अनुसार सांसदले वार्षिक २ लाख १२ हजार २५० डलर तलब बुझ्ने गर्दछन्।
५. सभामुख
सांसदहरू पछि सबैभन्दा बढी तलब भएको राजनैतिक पद सभामुख हो। अष्ट्रेलियामा सभामुखले वार्षिक २ लाख १२ हजार २५० डलर वार्षिक तलब पाउँछन् । तर, विभिन्न भत्ताहरू जोड्दा सभामुखको तलब वार्षिक ३ लाख ६९ हजार ७०० पुग्छ । अष्ट्रेलियामा अहिले मिल्टन डिक सभामुख रहेका छन्।
६. भिक्टोरियाका प्रिमियर
अष्ट्रेलियामा भिक्टोरियाका प्रिमियरको तलब पनि आकर्षक हुने गर्छ । भिक्टोरियाको प्रिमियरको तलब वृद्धि हुने भएसँगै वर्तमान प्रिमियर डानियल एन्ड्र्युको तलबमा १६ हजार डलरको वृद्धि हुने भएको छ।
यससँगै उनको वार्षिक तलब अब ४ लाख ८१ हजार १९० डलर पुग्ने भएको छ।
७. क्विन्सल्याण्डकी प्रिमियर
क्वीन्सल्याण्डकी प्रिमियर अन्नास्तासिया पलास्ज्क देशको दोस्रो सबैभन्दा धेरै कमाउने राज्य प्रमुख हुन्। उनले वार्षिक रूपमा ४ लाख ६९ हजार ३६७ डलर तलब बुझ्छिन्।
८. साउथ अष्ट्रेलिया प्रिमियर
दक्षिण अष्ट्रेलियाका प्रिमियर पिटर मालिनौस्कसले एक वर्षमा ४ लाख १८ हजार डलर कमाउँछन्। उनी सबैभन्दा धेरै तलब पाउने तेश्रो राज्य प्रमुख हुन्।
९. न्यू साउथ वेल्स प्रिमियर
न्यू साउथ वेल्स राज्यका राजनीतिज्ञहरूले बजेटलाई नियन्त्रणमा राख्नका लागि तलब नबढाउने भएका छन्। यससँगै न्यू साउथ वेल्सका प्रिमियरले एक वर्षमा ४ लाख ७ हजार ९८० डलर तलब पाउने छन्।
१०. वेस्टर्न अष्ट्रेलिया प्रिमियर
वेस्टर्न अष्ट्रेलियाका नयाँ प्रिमियरको पदोन्नतिका साथ तलब समेत वृद्धि भएका छन्। यो राज्यका प्रिमियर रोजक कुकले एक वर्षमा ३ लाख ५५ हजार ६८१ डलर तलब पाउनेछन्।
११. अष्ट्रेलियाको राजधानी क्षेत्रका मुख्यमन्त्री
अष्ट्रेलियाको राजधानी क्षेत्रका मुख्यमन्त्रीको हैसियतमा एन्ड्रयु बारले प्रति वर्ष ३ लाख ५३ हजार ८३३ डलर तलब बापत बुझ्ने गरेका छन्।
१२. नर्थन टेरिटोरीका मुख्यमन्त्री
नर्थन टेरिटोरीकी मुख्यमन्त्री नताशा फाईलले एक वर्षमा तलब बापत ३ लाख २५ हजार ३९२ डलर कमाउँछिन्।
१३. तस्मानियाका प्रिमियर
अष्ट्रेलियामा सबैभन्दा धेरै तलब बुझ्ने राजनीतिज्ञहरूको यस सूचीको अन्तिम स्थानमा तास्मानियाका प्रिमियर रहेका छन्। उक्त राज्यका वर्तमान प्रिमियर जेरेमी रकक्लिफले एक वर्षमा तलब बापत ३ लाख १ हजार ३९७ डलर बुझ्ने गरेका छन्।