विश्वकप क्रिकेट छनोट प्ले अफ : युएईमाथि नेपालको जित
असार १७, काठमाडौँ । आईसीसी एकदिवसीय विश्वकप छनोटअन्तर्गत प्ले अफ खेलमा नेपालले युएईलाई पराजित गरेको छ। विश्वकप छनोटअन्तर्गत सातौँ स्थानका लागि आज भएको प्ले अफ सेमिफाइनलमा नेपाललले युएईलाई ३ विकेटले हराएको हो।
जिम्बाब्वेको हरारेमा भएको खेलमा जितका लागि युएईले दिएको १८२ रनको लक्ष्य नेपालले ४४औँ ओभरमा पूरा गरेको हो। एक समय १०६ रनमा ७ विकेट गुमाई दबाबमा परेको नेपालको पारीलाई दीपेन्द्रसिंह ऐरी र सन्दीप लामिछानेले उकासेका हुन्। यी दुईले आठौँ विकेटका लागि अविजित ७९ रनको साझेदारी गरेका थिए। ऐरीले ७९ तथा लामिछानेले २३ रन बनाए।
नेपालको सुरुआती ब्याटिङ आज निराशाजनक रह्यो। कुशल भुर्तेल ३५, ज्ञानेन्द्र मल्ल १३ र गुल्शन झाले १२ रन बनाउनुबाहेक अन्य कसैले पनि दोहोरो अङ्क बटुल्न सकेनन्।
दश टोली सम्मिलित आईसीसी विश्वकप छनोट प्लेअफमा नेपाल सुपर सिक्समा पुग्न नसकेपछि विश्वकप छनोटको मुख्य प्रतिस्पर्धाबाट बाहिरिए पनि नेपालले सातौँ स्थान बनाउन आज युएईसँग प्रतिस्पर्धा गरेको हो। अब नेपालले मङ्गलबार सातौँ स्थानका लागि आयरल्यान्डसँग प्रतिस्पर्धा गर्नेछ।
आज भएको खेलमा नेपालले टस जितेर युएईलाई ब्याटिङको निम्तो दिएको थियो । नेपालले युएईलाई सुरुदेखि नै दबाबमा राखेको थियो।
युएईका नियमित कप्तान मोहम्मद वासिम चोटग्रस्त भएपछि वृत्य अरविन्दले कप्तानी गरेका थिए। युएईका सुरुआती ब्याटर आसिफ खान शून्यमा आउट भएपछि अर्का सुरुआती ब्याटर अर्यान्स शर्माले कप्तान अरविन्दसँग मिलेर ६८ रनको साझेदारी गरेका थिए।
सन्दीप लामिछानेको बलमा आरिफ शेखबाट २८ रनको व्यक्तिगत स्कोरमा क्याच आउट भए भने युएईका लागि सबैभन्दा बढी ४४ रन बनाएका अरविन्द पनि गुल्शन झाबाट बोल्ड भए।
युएईका रमिज शहजाद १० रनमा आउट भए। त्यसपछि रोहन मुस्तफा र बसिल हमिदले फेरि पाँचौँ विकेटका लागि ५८ रनको साझेदारी गरे। मुस्तफा ३५ तथा हमिद २९ रनमा आउट भए। समग्रमा युएई ४६।५ ओभरमा १८१ रनमा अलआउट भयो।
बलिङतर्फ नेपालका लागि सन्दीप लामिछाने र करण केसीले ३र३ विकेट लिए। त्यस्तै प्रतिश जिसी, गुल्शन झा र दीपेन्द्रसिंह ऐरीले १र१ विकेट लिए।आजको खेलमा अविजित ७९ रन बनाउँदै र बलिङमा एक विकेट लिन सफल दीपेन्द्रसिंह ऐरी प्लेयर अफ दि म्याच घोषित भए।