न्यु साउथ वेल्सको समुद्री तटमा ठूलो ह्वेल मर्यो
असार १८, मेलबर्न, अष्ट्रेलिया । अष्ट्रेलियाको न्यु साउथ वेल्सको समुद्री तटमा एउटा हम्पब्याक ह्वेल मरेको छ। समुद्री तटमा फसेको ह्वेल बचाउने प्रयास गर्दागर्दै मरेको हो।
आइतबार दिउँसो लेनोक्स हेडको सेभेन माइल बिचमा ह्वेल फेला परेको हो। आइतबार साँझसम्म उक्त ह्वेललाई सुरक्षित स्थानमा विसर्जन गरिइसकेको छ।
राष्ट्रिय निकुञ्ज र वन्यजन्तु सेवा (एनपिडब्लुएस), सी वर्ल्ड र ओआरसीए (अर्गनाइजेशन फर दी रेसक्यु एण्ड रिसर्च अफ सिटासियन्स इन अष्ट्रेलिया)का टोलीहरू ह्वेलको ज्यान बचाउन लागि परेका थिए।
एनपिडब्लुएसले सार्वजनिक सदस्यहरूलाई उनीहरूको सुरक्षाको लागि टाढा रहन आग्रह गरेको थियो।
साँझ ५ बजेको समयमा आएको हाई टाइडले ह्वेललाई समुद्रमा फिर्ता पठाउन मद्दत गर्ने टोलीले आश गरेको थियो। तर, ठूलो प्रयासका बाबजुद ह्वेलको ज्यान बचाउन नसकिएको अधिकारीहरूले जानकारी दिएका छन्।