निक किर्गियोसले विम्बल्डन नखेल्ने


असार १८, मेलबर्न, अष्ट्रेलिया । अष्ट्रेलियाका टेनिस खेलाडी निक किर्गियोसले यस वर्षको विम्बल्डनमा प्रतिस्पर्धा नगर्ने भएका छन्। नाडीको चोटका कारण किर्गियोसले २०२३ विम्बल्डनबाट नाम फिर्ता लिएका हुन्।

अष्ट्रेलियाका २८ वर्षीय खेलाडी गत वर्ष पुरुष एकल फाइनलमा नोभाक जोकोभिचसँग हारेका थिए। घुँडाको चोटका कारण शल्यक्रिया गर्नुपर्ने भएकाले यस वर्ष मात्र एउटा प्रतियोगिता खेलेका छन्। उनले यस वर्षको अष्ट्रेलियन तथा फ्रन्च ओपन समेत खेलेनन्।

किर्गियोसले आइतबार साँझ आफ्नो कमब्याकको क्रममा आफ्नो नाडीको लिगामेन्ट च्यातिएको घोषणा गरेका छन्।

उनले इन्स्टाग्राममा पोस्ट गरेका छन्, ‘यो वर्ष विम्बल्डनबाट बाहिरिनुपर्दा म साँच्चै दुःखी छु।’, ‘मेरो पुनरागमनको क्रममा नाडीमा दुखाइको महसुस गरेको छु।’

किर्गियोसको यो घोषणासँगै विम्बल्डनले उनको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ।

किर्गियोसले स्टटगार्ट ओपनमा चीनका वु यिबिङसँग पहिलो राउण्डमा हार बेहोरेका थिए। त्यसपछि अर्को हप्ता हेले ओपनबाट समेत बाहिरिएका उनी चोटमुक्त हुन संघर्ष गरिरहेका छन्।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?