युक्रेनलाई थप ३० वटा बुशमास्टर दिने अष्ट्रेलियाको घोषणा


असार २८, मेलबर्न, अष्ट्रेलिया । अष्ट्रेलियाका प्रधानमन्त्री एन्थोनी अल्बानीजले युक्रेनमा रुसको गैरकानूनी र अनैतिक आक्रमण नाटो शिखर सम्मेलनको केन्द्रविन्दु रहेको बताएका छन्। उनले  युक्रेनका जनतालाई अष्ट्रेलियाको समर्थन रहेको पुनः पुष्टि गरेका छन्।

लिथुआनियामा नाटो शिखर सम्मेलनमा युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीसँगको भेटपछि उनले यो टिप्पणी गरेका हुन्।

“मैले राष्ट्रपति जेलेन्स्कीसँग भेट गरेको छु र युक्रेनका जनताको राष्ट्रिय सार्वभौमसत्ता कायम राख्न, अन्तर्राष्ट्रिय कानूनको शासन कायम राख्ने संघर्षमा अष्ट्रेलियाको समर्थन रहेको पुष्टि गरेको छु,” प्रधानमन्त्रीले बुधबार पत्रकार सम्मेलनमा भनेका छन्।

त्यस्तै, अष्ट्रेलियाले रुसको आक्रमण विरुद्ध राष्ट्रको रक्षा गर्न युक्रेनमा ३० वटा उच्च प्रविधियुक्त बुशमास्टर सशस्त्र गाडीहरू पठाउने घोषणा पनि गरेको छ।

पछिल्लो घोषणासँगै अष्ट्रेलियाले युरोपेली राष्ट्रलाई उपहार दिएका सशस्त्र सवारी साधनको संख्या १२० पुगेको छ।

अष्ट्रेलियाका प्रधानमन्त्रीले अभिनेताबाट राजनीतिज्ञ बनेका जेलेन्स्कीको प्रशंसा गर्दै युक्रेनलाई आवश्यकता अनुसार सहयोग गरिरहने बताएका छन्।

युद्धग्रस्त राष्ट्रले आफ्नो काउंटर-आक्रमण जारी राख्नका लागि युक्रेनी सेनाहरूले बारम्बार बुशमास्टरहरू प्रयोग गरिरहेका छन्।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?