विश्वकपमा ब्राजिलको सानदार सुरूवात, एरी बोर्गसले गरिन् जारी विश्वकपमा पहिलो ह्याट्रिक


साउन ८, मेलबर्न, अष्ट्रेलिया। ब्राजिलले अष्ट्रेलिया र न्युजिल्याण्डमा जारी फिफा महिला विश्वकप फुटबलमा सानदार सुरूवात गरेको छ। सोमबार हिन्डमार्स स्टेडियममा भएको खेलमा पानामालाई ४ – ० ले हराउँदै ब्राजिलले विश्वकपमा उत्कृष्ट सुरूवात गरेको हो।

ब्राजिलको जितमा फरवार्ड एरी बोर्गसले ह्याट्रिक गरिन्। खेलको १९ औँ मिनेटमा हेडिङ गोल गर्दै उनले ब्राजिललाई अग्रता दिलाएकी थिइन्। त्यस्तै, पहिलो हाफको ३९ औँ मिनेटमा व्यक्तिगत दोश्रो गोल गर्दै उनले ब्राजिलको अग्रता दोब्बर पारिन्।

त्यसैगरी, खेलको दोश्रो हाफमा पनि ब्राजिल पानामामाथि हाबी देखियो। दोश्रो हाफको ४८ औँ मिनेटमा बिट्रिज जेनेरेटोले गोल गर्दा ब्राजिल सहज स्थितिमा पुगेको थियो।

जारी विश्वकपमा पहिलो ह्याट्रिक गर्ने क्रममा ७० औँ मिनेटमा एरी बोर्गसले तेश्रो गोल गर्दा ब्राजिलको विश्वकपमा सुखद सुरूवात रह्यो।

यस जितसँगै समूह एफमा रहेको ब्राजिल अंक तालिकाको शीर्ष स्थानमा रहेको छ। ब्राजिलले समूह चरणको दोश्रो खेल शनिबार फ्रान्ससँग खेल्नेछ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?