महिला विश्वकपमा फिलिपिन्सको ऐतिहासिक जित, कोलम्बियासँग हार्यो कोरिया


साउन ९, मेलबर्न, अष्ट्रेलिया । अष्ट्रेलिया र न्युजिल्याण्डमा जारि  फिफा महिला विश्वकपमा फिलिपिन्सले ऐतिहासिक जित निकालेको छ। आयोजक टोलीमाथि १–० गोल अन्तरको जीत निकालेको फिलिपिन्सको महिला विश्वकप इतिहासमा यो नै पहिलो जित हो।

फिलिपिन्सको ऐतिहासिक जितमा सरिना बोल्डेन नायक बनिन्। उनले खेलको पहिलो हाफको २४औँ मिनेटमा गरेको गोल नै टोलीको जितका लागि पर्याप्त सावित भयो।

न्युजिल्याण्डको वालिङटन रिजनल स्टेडियममा भएको खेलमा घरेलु टोलीले ठूलो दबाब सिर्जना गरेको थियो। तर, पाएका मौकाहरूको सदुपयोग गर्न नसक्दा पराजय व्यहोर्न बाध्य भयो।

न्युजिल्याण्डले जारी विश्वकपको सुरूवाती खेलमा नर्वेमाथि १–० गोल अन्तरको जित निकालेको थियो।

त्यस्तै, ग्रुप एफ अन्तर्गतको खेलमा कोलम्बियासँग दक्षिण कोरिया पराजित भएको छ। अष्ट्रेलियाको एलियान्ज स्टेडियममा भएको खेलमा खेलमा कोलम्बियाले दक्षिण कोरियालाई २ – ० गोल अन्तरले हराएको हो।

कोलम्बियाको जीतमा क्याटालिना उश्मीले  ३०औँ मिनेटमा पेनाल्टी मार्फत गोल गरिन्। त्यसैगरी, लिन्डा कोइसेडोले खेलको ३९औँ मिनेटमा गोल गर्दा कोलम्बियाले जीत सुनिश्चित गर्यो।

यस जितसँगै ग्रुप एफको शीर्ष दुइमा क्रमशः जर्मनी र कोलम्बिया रहेका छन्। मोरक्को र दक्षिण कोरिया भने अङ्क विहीन हुँदै तालिकाको पुछारमा रहेका छन्।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?