अष्ट्रेलियाका २ विश्वविद्यालयले भारतमा शाखा क्याम्पस सञ्चालन गर्ने
साउन १९, मेलबर्न, अष्ट्रेलिया। विदेशी विश्वविद्यालयहरूलाई अपतटीय (अफशोर) क्याम्पसहरूका लागि स्वागत गर्ने भारतको निर्णयले विश्वव्यापी उच्च शिक्षा संस्थाहरूमा उल्लेखनीय चासो जगाएको छ। अत्यधिक जनसङ्ख्या भएको देशमा सञ्चालन गर्ने अवसर पाएकोमा विश्वविद्यालयहरू उत्साहित देखिएका छन्।
यसैबिच, गुजरात इन्टरनेशनल फाइनान्स टेक (गिफ्ट) सिटीमा भारतीय विद्यार्थीहरूलाई पढाउने अष्ट्रेलियाका वोलोङगोङ र डेकिन विश्वविद्यालय पहिलो हुने भएका छन्।
वोलोङगोङ विश्वविद्यालयका कार्यकारी निर्देशक एश्ले ट्याङ्कले अष्ट्रेलियाका विश्वविद्यालयहरू भारतीय सरकारको यो निर्णयको प्रतिक्षामा रहेको द पाइ न्युजले जुलाइमा अष्ट्रेलियामा गरेको कार्यक्रममा भनेका थिए।
पछिल्लो तथ्याङ्क अनुसार अष्ट्रेलियामा ९२ हजारभन्दा बढी भारतीय विद्यार्थीहरू अध्ययनरत छन्। जुन चीन पछिको सबैभन्दा धेरै हो।
“स्पष्ट रूपमा भारतमा अष्ट्रेलियाली शिक्षाको लागि विद्यार्थीको माग छ,” ट्याङ्कले भनेका छन्।
डेकिन विश्वविद्यालयले पनि वित्तीय सेवा केन्द्रमा शाखा क्याम्पस विकास गर्न ४० लाख अष्ट्रेलियन डलर लगानी गर्ने आफ्नो योजना पनि घोषणा गरेको छ। तर नयाँ बजारमा सञ्चालन सुरु गर्दा चुनौतीहरू र अक्सर जटिल नियमहरू आउँनेमा भने विश्वविद्यालय सचेत रहेको बताएको छ।
गिफ्ट सिटीमा स्थापना गर्न चाहने विदेशी संस्थाहरूले अन्तर्राष्ट्रिय वित्तीय सेवा प्राधिकरण मार्फत आवेदन दिनुपर्छ र पूर्वाधार प्रस्तावहरूदेखि वित्तीय क्षमताहरू सम्म सबै कुरा समेट्ने विस्तृत योजनाहरू पेश गर्नुपर्ने प्रावधान राखिएको छ।
“भारत हाम्रा लागि अपरिचित छ,” ट्याङ्कले भने, “पहिलो आवेदन प्रक्रिया पनि जटिल थियो। हामीले परिवर्तनहरू गरिरह्यौं र गिफ्ट सिटीमा गुजरातले के खोजिरहेको थियो भनेर बुझ्ने प्रयास गरिरह्यौं।”
वित्त र व्यापार हब गुजरातमा २००७ मा नै यसबारे योजना बनाइएको थियो। गुजरातलाई हङकङ, सिंगापुर र लन्डन मा क्यानरी वार्फ जस्तै एक आधुनिक व्यापार क्षेत्र बनाउनका लागि भारत लागि परिरहेको बताइन्छ।
सहरको अन्तिम चरणको निर्माण कार्य जारी छ र भारत नयाँ क्षेत्रमा विदेशी लगानी आकर्षित गर्न तीव्र गतिमा लागिरहेको छ।
प्रधानमन्त्री नरेन्द्र मोदीले यस क्षेत्र भारतमा उत्कृष्ट वित्त र आईटी क्षेत्र बनाउन चाहेको बताएका छन्। जसले भारतलाई मात्र नभई सम्पूर्ण विश्वलाई सेवा प्रदान गर्ने सामर्थ्य राख्नेछ।
यस क्षेत्रको विकासमा सहयोग गर्न विदेशी संस्थाहरूले वित्तीय व्यवस्थापन, इन्जिनियरिङ्, गणित र फिनटेक जस्ता विषयहरूमा पाठ्यक्रमहरू प्रदान गर्नुपर्ने प्रारम्भिक प्रावधान रहेका छन्।
तर, कार्यकारी निर्देशक ट्याङ्कले गुजरातमा अध्ययन संस्था खोल्ने प्रक्रिया कठीन भएको बताएका छन्। उनले भारतमा अध्ययन संस्था खोल्दा विश्वविद्यालयको प्रतिष्ठाको पनि ख्याल गर्नुपर्ने बताएका छन्।
वोलोङगोङ विश्वविद्यालयले दुबई, हङकङ र मलेसियामा पहिले नै शाखा क्याम्पस सञ्चालन गर्दै आएको छ।
विश्वविद्यालयका उपकुलपति प्याट्रिसिया डेभिडसन गिफ्ट सिटी शिक्षण आधारको लागि इजाजतपत्र व्यवस्थालाई अन्तिम रूप दिन मे २०२३ मा भारत भ्रमण गरेका थिए। सो भ्रमणको क्रममा उनको मोदीसँग भेट पनि भएको थियो।
अष्ट्रेलिया र भारतले सोही महिनामा दुई देशहरू बीच विद्यार्थी र अनुसन्धानकर्ताहरूको प्रवाहलाई समर्थन गर्न गतिशीलता सम्झौतामा हस्ताक्षर गरेका थिए।
वोलोङगोङको शाखा खोल्ने मिति अझै निश्चित नभइसकेको अवस्थामा पनि अन्य मुलुकका विश्वविद्यालयहरू भारतमा शाखा क्याम्पस सञ्चलनका लागि इच्छुक देखिएको बताइएको छ।