रोबोडेट योजनाका पीडितहरूसँग अष्ट्रेलियाको संघीय संसदले माग्यो माफी


साउन २६, मेलबर्न, अष्ट्रेलिया । संघीय संसदले गैरकानूनी रोबोडेट योजनाका पीडितहरूसँग औपचारिक रूपमा माफी मागेको छ। पीडितहरूसँग माफि माग्दै यस्तो योजना कहिल्यै दोहोरिन नदिने प्रतिबद्धता जनाएको छ।

सरकारी सेवा मन्त्री बिल शोर्टेनले रोबोडेटमा शाही आयोगको प्रतिवेदनबाट प्राप्त निष्कर्षहरू स्वीकार गर्न र योजनाका पीडितहरूप्रति गहिरो खेद प्रकट गर्न प्रतिनिधि सभाको लागि प्रस्ताव पेश गरेका छन्।

उनले भने, ‘के भयो त्यसको यथार्थ विवरण स्वीकार नगरी राष्ट्र र संसद अघि बढ्न सक्दैन भन्ने हाम्रो विश्वास छ। म पीडितहरूसँग माफी चाहन्छु र हामी पीडितहरूलाई संसदले माफी मागोस् भन्ने चाहन्छौं। म अग्रपंक्तिका कर्मचारीहरूसँग माफी चाहन्छु र हामी चाहन्छौं कि संसदले उनीहरूसँग माफ मागोस्।”

प्रस्तावले योजनाको डिजाइन र कार्यान्वयनमा संलग्न भएकोमा पूर्व गठबन्धन सरकार र यसका मन्त्रीहरूको पनि आलोचना गरेको छ।

रोबोडेट ऋण असुली गर्ने सरकारको योजनाको अनौपचारिक नाम हो। यो योजना २०१५ मा सुरू भएको थियो। यस योजनाले सरकारबाट कल्याणकारी सहयोग लिएका व्यक्तिहरूलाई सरकारको पैसा लिएको अभियोग लगाएको थियो।

यो योजनाले ४ लाख ३३ हजार मानिसहरूबाट लगभग २ अर्ब डलर गैरकानूनी रूपमा दावी गर्दै आय औसतको प्रक्रिया मार्फत ऋण भएको पहिचान भएका मानिसहरूलाई सूचनाहरू जारी गरेको थियो।

“अष्ट्रेलियालीहरू राजनीतिक वर्गबाट, उनीहरूको प्रतिनिधित्व गर्ने विशेषाधिकार पाएका मानिसहरूबाट उनीहरू यो गलत थियो भन्ने सुन्न चाहन्छन्।” सर्टनले भने।

“विगतको सरकार कानून तोड्ने सरकार थियो। पीडितसँग माफी माग्ने बेला आएको छ, कर्मचारीसँग माफी माग्ने बेला आएको छ। आफ्नो कामको गैरकानूनीताको लागि वास्तविक पश्चात्ताप गर्ने बेला आएको छ।” उनले थपेका छन्।

संशोधनको प्रयास असफल भएपछि गठबन्धनका सांसदहरूले विपक्षमा मतदान गरेपछि उक्त प्रस्तावलाई ८८ बाट ५१ मतले समर्थन गरिएको थियो।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?