अष्ट्रेलियाको विश्वकप यात्रा समाप्त, सानदार जितसहित इङ्ल्यान्ड फाइनलमा
साउन ३१, मेलबर्न, अष्ट्रेलिया । आयोजक अष्ट्रेलियालाई हराउँदै इङ्ल्यान्ड फिफा महिला विश्वकप फुटबलको फाइनलमा प्रवेश गरेको छ । सिड्नीस्थित अस्ट्रेलिया रंगशालामा बुधबार भएको खेलमा इङ्ल्यान्डले अष्ट्रेलियालाई ३–१ गोलले हरायो ।
इङ्ल्यान्ड पहिलो पटक फिफा महिला विश्वकपको फाइनलमा प्रवेश गरेको हो । फाइनलमा इङ्ल्यान्डले स्पेनको सामना गर्नेछ । स्पेनले स्विडेनलाई २–१ गोलले हराउँदै फाइनलमा स्थान बनाएको थियो ।
इङ्ल्यान्डको जितमा इला टुन, लोरेन हेम्प र एलिसा रुसोले गोल गरिन् । अष्ट्रेलियाका लागि साम केरले सान्त्वना गोल फर्काइन् । अष्ट्रेलियाविरुद्ध आक्रामक खेल प्रदर्शन गरेको इङ्ल्यान्डले ३६औं मिनेटमा टुनको गोलमार्फत अग्रता लिएको थियो ।
त्यसपछि ६३औं मिनेटमा अस्ट्रेलियाकी केरले गोल गर्दै खेललाई बराबरीमा ल्याइन् । ७१औं मिनेटमा हेम्पले गोल गर्दै इङ्ल्यान्डलाई पुन: अगाडि बढाइन् । ८६औं मिनेटमा रुसोले गोल गर्दै इङ्ल्यान्डलाई सजिलै फाइनलमा प्रवेश गराइन् ।
स्पेन र इङ्ल्यान्डबीचको फाइनल खेल आइतबार हुनेछ । सेमिफाइनलमा पराजित अष्ट्रेलिया र स्विडेनबीच शनिबार तेस्रो स्थानका लागि प्रतिस्पर्धा हुनेछ ।