अष्ट्रेलियाका २०० बढी कलेज सरकारको निशानामा, अन्तर्राष्ट्रिय विद्यार्थी भर्ना गर्न नपाउने सम्भावना


भदाै १०, मेलबर्न, अष्ट्रेलिया । अष्ट्रेलियामा नियम विपरित कार्यमा संलग्न कलेजहरूलाई सरकारले कडा एक्सन लिने भएको छ। भिसा अनुरोध पत्र (भिसा रिक्वेस्ट)मा धेरै गलत कागजात राखेको पाइएपछि ती कलेजहरूप्रति सरकार कठोर हुने भएको हो।

प्रारम्भिक रूपमा करीब २०० कलेजहरूले अन्तर्राष्ट्रिय विद्यार्थीहरू इनरोल गर्नका लागि गलत विवरण राखेर भिसा अनुरोध पत्र मागेको पाइएको छ। यसमा दोषी ठहरीए ती कलेजहरूले अन्तर्राष्ट्रिय विद्यार्थी इनरोल गर्नबाट प्रतिबन्धको सामना गर्नुपर्ने समेत हुन सक्ने भएको छ।

एक संयुक्त घोषणामा शिक्षा मन्त्री जेसन क्लेयर, सीप र प्रशिक्षण मन्त्री ब्रेन्डन ओ’कनर र गृह मामिला मन्त्री क्लेयर ओ’निलले  शिक्षा प्रदायकहरूलाई निलम्बन नोटिस जारी गर्ने विचार गरिरहेको बताएका छन्। उनीहरूले अन्तर्राष्ट्रिय विद्यार्थीहरूको भिसा अस्वीकार दरहरू पनि बढ्ने बताएका छन्।

“सरकारको विशेष गरी २०० भन्दा बढी शिक्षा प्रदायकहरूको बारेमा ध्यानाकर्षित छ। जसमा हाल ५० प्रतिशत भन्दा बढी भिसा अस्वीकार दर छ,” उनीहरूले भनेका छन्।

जोखिमपूर्ण शिक्षा प्रदायकहरूलाई रोक्न मन्त्रीहरूले विदेशीहरूको लागि शिक्षा सेवा ऐनमा नयाँ शक्ति प्रयोग गर्ने पनि इंगित  गरेका छन्।

“अष्ट्रेलिया सरकारले यो शक्ति प्रयोग गरेको यो पहिलो पटक हुनेछ र अल्बानी सरकारले गलत गर्ने शिक्षा प्रदायकहरूको मुद्दालाई कति गम्भीरताका साथ लिन्छ भनेर यसले प्रस्ट पार्दछ,” मन्त्रीहरूले भने।

सरकारले निलम्बन प्रमाणपत्रको प्रयोगको लागि स्पष्ट आधार तय गर्न सम्भावित नियमहरूबारे तुरुन्तै शिक्षा क्षेत्रसँग परामर्श गर्ने उनीहरूले जानकारी दिएका छन्।

सरकारले कोभिडपछि अन्तर्राष्ट्रिय शिक्षा उद्योगको विकास र थप स्थिर हुन मद्दत गर्न नयाँ उपायहरू ल्याइरहेको छ। यसमा सफलताको सम्भावित खतराहरूलाई सम्बोधन गर्ने उपायहरू पनि समावेश गरिएको छ।

मे महिनासम्म २ लाख ७० हजार अन्तर्राष्ट्रिय विद्यार्थीहरूले अष्ट्रेलियामा नयाँ पाठ्यक्रमहरू सुरु गरेका छन्। जुन अघिल्लो वर्षको सोही अवधिको तुलनामा ६० प्रतिशतले बढी हो।

यो विशाल विस्तारले हजारौं गैर-वास्तविक विद्यार्थीहरूलाई नियमसंगत काम नगर्ने शिक्षा एजेन्टहरू र अप्रतिष्ठित कलेजहरूको बढ्दो संख्यामा सहयोग गरेको सरकारको धारणा रहेको छ।

यो क्रम रोक्ने प्याकेजको एक हिस्साका रूपमा सरकारले अष्ट्रेलिया आउने अन्तर्राष्ट्रिय विद्यार्थीहरूलाई एकभन्दा बढी पाठ्यक्रममा भर्ना गर्न दिने नियम पनि अन्त्य गरेको जनाएको छ।

सरकारी अधिकारीहरूले विद्यार्थीले एकै पटक धेरै विषयमा भर्ना गर्नेक्रम बढेको बताएका छन्। स वर्षको पहिलो अर्धवार्षिकमा १७ हजार विद्यार्थीले यस्तो गरेका छन्। तर, २०१९ र २०२२ को अवधिमा जम्मा १० हजार ५ सय विद्यार्थीहरू समवर्ती भर्ना भएका थिए।

अष्ट्रेलियामा यो विद्यार्थीहरू वास्तविक पाठ्यक्रमहरूबाट नक्कली पाठ्यक्रमहरूमा सर्ने तरिका भएको बताइन्छ। विश्वविद्यालय र राम्रा कलेजहरूले अष्ट्रेलिया आउने विद्यार्थीलाई लिएर चिन्ता व्यक्त गरेका छन्।

“भर्खरैको अनुसन्धानले ‘समवर्ती नामांकन’ को दुरुपयोगलाई अन्तर्राष्ट्रिय क्षेत्रको अखण्डताको मुद्दाको रूपमा पहिचान गरेको छ,” मन्त्रीहरूले भने।

यो क्रम नियन्त्रण गर्नका लागि सरकारले विद्यार्थी भिसाका लागि योग्य हुनका लागि अन्तर्राष्ट्रिय विद्यार्थीहरूलाई आवश्यक पर्ने बचतको रकम बढाएको छ। कोभिडका कारण २०१९ देखि नबढाइएको रकम अक्टोबर १ मा १७ प्रतिशतले बढाएर २४,५०५ डलर पुर्याइएको छ।

अन्तर्राष्ट्रिय शिक्षाको अखण्डतालाई बढावा दिन थप उपायहरू यस वर्षको अन्त्यमा सरकारको आप्रवासन रणनीतिमा घोषणा गर्ने तयारी गरेको छ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?