पाकिस्तानसंग नेपालको २ सय ३८ रनको लज्जास्पद हार
भदौ १३, काठमाडौँ । एसिया कपअन्तर्गत पाकिस्तानसंग नेपालले २ सय ३८ रनको लज्जास्पद हार व्यहोरेको छ। समूह ‘ए’ अन्तर्गत मुल्तान क्रिकेट स्टेडियममा नेपालले आयोजक पाकिस्तानसँग २३८ रनको पराजय भोगेको हो।
३४३ रनको लक्ष्य पछ्याएको नेपालले २३.४ ओभरमा सबै विकेट गुमाएर १०४ रनमात्र बनायो। नेपालका लागि सोमपाल कामीले २८, आरिफ शेखले २६ रन बनाए। गुल्सन झाले १३ रन जोडे।
पाकिस्तानका लागि सदाव खानले ४, हरिस राउफ र शाहिन शाह अफ्रिदीले २–२ तथा मोहम्मद नवसज र नसिम शाहले १–१ विकेट लिए। यसअघि टस जितेर पहिले ब्याटिङ गरेको पाकिस्तानले निर्धारित ५० ओभरमा ६ विकेट गुमाएर ३४२ रन बनायो।
पाकिस्तानका लागि कप्तान बाबर आजमले १५१ रन बनाए। उनले १४ चौका र ४ छक्का हिर्काए। इफ्तिकार अहमदले १०९ रन जोडे। इफ्तिकारले ११ चौका र ४ छक्का हिर्काए। मोहम्मद रिजवानले ४४ रनको योगदान गरे।
नेपालका लागि सोमपाल कामीले २ तथा करण केसी र सन्दीप लामिछानेले एक–एक विकेट हात पारे।