अष्ट्रेलियाका राजनीतिज्ञहरूको तलबमा एक दशककै ठूलो मात्रामा वृद्धि, कति पाउँछन् प्रधानमन्त्रीले वार्षिक तलब ?
भदाै १४, मेलबर्न, अष्ट्रेलिया । अष्ट्रेलियाका संघीय राजनीतिज्ञहरूको तलबमा करीब एक दशक पछिकै सबैभन्दा ठूलो वृद्धि हुने भएको छ। त्यसैगरी, अष्ट्रेलियाका सबै सार्वजनिक कार्यालयहरूका कर्मचारीको तलब ४ प्रतिशतले बढ्ने भएको छ।
पछिल्लो पटक वृद्धि गरिएको तलब मुलुकको आर्थिक अवस्थासँग मेल खाने नदेखिएका कारण पारिश्रमिक न्यायाधिकरण, संसदीय तलब समीक्षाको जिम्मेवार निकायले यो वृद्धि गर्ने निर्णय गरेको हो।
योसँगै अब सांसदको वार्षिक आधार तलब २ लाख १७ हजारबाट बढेर २ लाख २५ हजार ६८० कायम हुने भएको छ। त्यस्तै, प्रधानमन्त्री एन्थोनी अल्बानीजको तलब पनि ५ लाख ६४ हजार २०० बाट बढेर ५ लाख ८६ हजार ७६८ कायम हुने भएको छ। त्यसैगरी, विपक्षी दलका प्रमुख नेताको तलब पनि करीब १६ हजार डलर बढेर ४ लाख १७ हजार ५०८ कायम हुने भएको छ।
औसत अष्ट्रेलियाको ज्याला मूल्य सूचकांक ३.६ प्रतिशतले बढेको छ। निजी क्षेत्र ३.८ प्रतिशतले बढेको छ भने सार्वजनिक क्षेत्रमा ३.१ प्रतिशतले वृद्धि भएको छ। २०२२ को सेप्टेम्बरमा संघीय राजनीतिज्ञहरूको तलब २.७५ प्रतिशतले बढेको थियो।
तलब वृद्धिमा विभिन्न सरकारी भत्ताहरू भने समावेश नगरिएको नाइन न्युजमा उल्लेख गरिएको छ।
‘पारिश्रमिकको समीक्षा गर्दा न्यायाधिकरणले अष्ट्रेलियाको आर्थिक अवस्था, निजी र सार्वजनिक क्षेत्रहरूमा पारिश्रमिकमा विगत र अनुमानित आन्दोलनहरूलाई ध्यानमा राख्छ,’ पारिश्रमिक न्यायाधिकरणले एक प्रतिवेदनमा भनेको छ।
संघीय सदस्यहरूको वृद्धि भएको तलब सेप्टेम्बर १ तारिखदेखि लागु हुनेछ। तर, सार्वजनिक कार्यालयका अन्य सदस्यहरूको तलब वृद्धि भने जुलाई १ तारिखदेखि नै लागु भइसकेको छ।