५ डलरको दुर्लभ र सिमित सिक्का सार्वजनिक गर्दै अष्ट्रेलिया
भदाै १७, मेलबर्न, अष्ट्रेलिया । अष्ट्रेलियामा राष्ट्रका २० वटा विश्व सम्पदा क्षेत्रलाई समेट्दै अर्को हप्ता अष्ट्रेलियामा ५ डलरको नयाँ सिक्का जारी गरिने भएको छ।
रोयल अष्ट्रेलियन मिन्टले २०२३ का लागि रंगीन ५ डलरको फ्रोस्टेड सिक्काको डिजिटल कपी सार्वजनिक गरेको छ। सेप्टेम्बर ७ मा यो सार्वजनिक गरिने छ। यद्यपी, यो सिक्का नियमित चलनमा भने नल्याइने बताइएको छ।
मिन्टले यस्ता सिक्काहरू ३० हजारवटा बनाएको बताइएको छ। यो सिक्का लिन इच्छुकले एउटाको ३० डलर तिर्नुपर्ने बताइएको छ।
कलेक्टरको सिक्कालाई अन्तर्राष्ट्रिय काउन्सिल अन मोन्युमेन्ट्स एण्ड साइट्स (ICOMOS) को महासभा र वैज्ञानिक गोष्ठीसँग मेल खाने घोषणा गरिएको थियो। जुन हाल पहिलो पटक अष्ट्रेलियामा आयोजना भइरहेको छ।
यो सिक्कामा विश्व सम्पदा सूचीमा रहेका अष्ट्रेलियाका उलुरु-काटा जुटा राष्ट्रिय निकुञ्ज, सिड्नी ओपेरा हाउस, गोन्डवाना वर्षावन, र ग्रेट ब्यारियर रिफ जस्ता २० वटै सम्पदाको तस्बीर राखिएको छ।
बिचमा रहेको तस्विरमा ह्यान्डप्रिन्ट, फ्यान पाम पात र जीवाश्मको प्रतिक राखिएको छ। यी सबैले अष्ट्रेलियाको प्रकृति र आदिवासी इतिहासको महत्त्वपूर्ण भागहरू प्रतिनिधित्व गर्ने जानकारी दिइएको छ।
सिक्काको अर्को भागमा स्वर्गीय महारानी एलिजाबेथ द्वितीयको स्मरणार्थ ओभरवर्स राखिएको छ।
“अष्ट्रेलियालीहरूको रूपमा हामी धेरै प्राकृतिक सौन्दर्य भएको देशमा बस्न पाउँदा भाग्यमानी छौं,” प्रतिस्पर्धा, परोपकार र ट्रेजरी सहायक मन्त्री एन्ड्रयू लेहले भनेका छन्। “रोयल अष्ट्रेलियाली मिन्टले अष्ट्रेलियाको अविश्वसनीय विश्व सम्पदा स्थलहरूको प्रचार गर्न र जागरूकता जगाउन सङ्कलनयोग्य सिक्काहरू प्रयोग गरिरहेको छ।”