न्यु साउथ वेल्सका शिक्षकको तलबमा ३० वर्षयताकै ठूलो वृद्धि, सुरूवाति तलब ८५ हजार डलर


भदाै २५, मेलबर्न, अष्ट्रेलिया । न्यू साउथ वेल्सका शिक्षकहरूको तलबमा ठूलो वृद्धि भएको छ। राज्य सरकारले शिक्षक अभावलाई सम्बोधन गर्ने प्रयासस्वरूप दशककै सबै भन्दा ठूलो तलब वृद्धि गरेको हो।

शिक्षा मन्त्री र डेपुटी प्रिमियर प्रु कारले शिक्षक महासंघ काउन्सिलले न्यु साउथ वेल्स सरकारको प्रस्तावलाई समर्थन गर्न मतदान गरेको घोषणा गरेका छन्।

अब शिक्षकको सुरूवाति वार्षिक तलब ७५ हजार ७९१ डलरबाट बढेर ८५ हजार डलरसम्म पुग्ने भएको छ। त्यस्तै, उच्चस्तरका शिक्षकको वार्षिक तलब १ लाख १३ हजार ४२ डलरबाट वृद्धि हुँदै १ लाख २२ हजार १०० डलर कायम हुने भएको छ।

राज्यको शिक्षा काउन्सिल र सरकारसँग भएको सम्झाैताले राज्यभरका ९५ हजार शिक्षकलाई ठूलो असर पुग्नेछ। यो सम्झाैता  अक्टोबर १ देखि लागु हुने भएको छ। न्यु साउथ वेल्समा यसलाई पछिल्लो तीन दशकको सबैभन्दा ठूलो तलब वृद्धि बताइएको छ।

शिक्षक महासंघका कार्यवाहक अध्यक्ष हेनरी राजेन्द्रले शिक्षकहरूको अथक अभियानले ऐतिहासिक सफलता हासिल गरेको बताए।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?