प्रहरी अधिकृतको हत्या, अर्का एक गम्भीर घाइते


असोज ७, काठमाडौँ । कोसोभोमा एक जना प्रहरी अधिकृतको हत्या भएको छ भने अर्का एक जना गम्भीर घाइते भएका छन्।

गस्तीमा रहेको प्रहरी टोलीमाथि सर्बियासँगको सिमाना नजिक आपराधिक समूहले आक्रमण गर्दा ती प्रहरी अधिकृतको मृत्यु भएको हो। सडकमा अवरोध सृजना गरेर बसेका आक्रमणकारीको समूहले प्रहरीलाई देख्नेबित्तिकै ग्रिनेडलगायत विष्फोटक पदार्थसँगै गोली वर्षाएको प्रहरीले एक विज्ञप्ति निकालेर बताएको छ।

कोसोभोका प्रधानमन्त्री अल्बिन कुर्तीले आक्रमणको निन्दा गर्दै त्यसलाई आतङ्कवादी कार्य भन्नुभएको छ। विभिन्न प्रकारका स्वचालित हतियार बोकेका आक्रमाणकारीले गरेको जघन्य हत्याको उहाँले भत्र्सना गर्दै आतङ्कवादी गतिविधिमा बेलग्रेडको हात रहेको आरोप लगाउनुभएको छ। बेलग्रेडका अधिकारीहरूको राजनैतिक एवं आर्थिक सहयोगमा आफ्नो देशमा सङ्गठित आपराधिक समूहले आक्रमण गरिरहेको उहाँले सामाजिक सञ्जालमा लेख्नुभएको छ।

सर्बिया र कासोभोबीचको सम्बन्ध सुधारका निम्ति युरोपेली सङ्घको मध्यस्थता ब्रसेल्समा दुवै देशका नेताबीच भएको वार्ता असफल भएका एक सातापछि यो घटना भएको हो।

दुई दशकभन्दा बढी समयदेखि बिग्रिएको बाल्कन क्षेत्रका यी दुई छिमेकीबीचको सम्बन्ध सुमधुर तुल्याउन तथा जारी विवाद समाधानको प्रयास युरोपेली सङ्घले गर्दै आएको छ। ब्रसेल्स वार्ता परिणामविहीन भएपछि द्विपक्षीय कूटनीतिक गतिरोध पनि कायम नै छ।

प्रिस्टिनाले गत मे महिनामा चार सर्बहरूको बाहुल्य रहेका चार नगरपालिका प्रमुखमा जातीय अल्बेनियालीलाई स्थापना गर्ने निर्णय गरेपछि आपसी द्वन्द्व चर्किएको हो।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?