भिक्टोरिया युनिभर्सिटीले प्रदान गर्ने ‘लाइफटाइम अचिभ्मेन्ट अवार्ड’ मनोनयनको शीर्ष स्थानमा नेपालका विनोद आत्रेय


असोज २१, मेलबर्न, अष्ट्रेलिया । भिक्टोरिया विश्वविद्यालय (युनिभर्सिटी)बाट अध्ययन पूरा गरि विभिन्न क्षेत्रमा महत्वपूर्ण योगदान पुर्याएका व्यक्तिहरूका लागि प्रदान गरिने अलुम्नाइ अवार्डस – लाइफटाइम अचिभ्मेन्ट अवार्डको अन्तिम मनोनयन सार्वजनिक भएको छ।

उक्त २३ जनाको मनोनयनमा नेपालमा बैंकिङ क्षेत्रका प्रतिष्ठित व्यक्ति डाक्टर विनोद आत्रेय पहिलो स्थानमा पर्न सफल भएका छन् । उनी बैकिङ, फाइनन्स एण्ड इन्स्युरेन्स इन्स्टिच्युट अफ नेपाल (बेफिन)का प्रबन्ध निर्देशक समेत हुन् ।

उनको नेतृत्वमा बेफिन वाणिज्य बैंक, विकास बैंक र लघु-क्रेडिट संस्थाहरू लगायत विभिन्न वित्तीय संस्थाहरूको समर्थनमा वित्तीय क्षेत्रभित्र क्षमता विकास गर्ने एक प्रमुख संस्थाको रूपमा प्रतिष्ठित छ ।

बेफिनमा आफ्नो भूमिका सुरू गर्नुभन्दा पहिले उनले इमर्जिङ नेपाल लिमिटेडको सीईओको रूपमा सेवा गरेका थिए । त्यसैगरी, धेरै बिमा र वित्तिय कम्पनीमा समेत उनले उच्च तहका पदहरू सम्हालेका थिए। बैकिङ क्षेत्रमा ३० वर्षभन्दा लामो अनुभव बटुलेका आत्रेयले नेपाल राष्ट्र बैंकका विभिन्न प्रमुख पदमा रहेर बैंकिङ तथा वित्त नियमन, कर्पोरेट योजना र वित्तीय समावेशीकरणमा आफ्नो विशेषज्ञता देखाइसकेका छन् ।

नेपालका वित्तीय क्षेत्रमा महत्वपूर्ण योगदान पुर्याएका डा. आत्रेयले नेपाल बाहिर समेत उत्तिकै योगदान दिएका छन् । युएनडिपीजस्ता संस्थाहरूसँग काम गरेका उनले माल्दिभ्स, मार्शल आइल्याण्ड र पलाउजस्ता देशहरूका विभिन्न परियोजनामा काम गरेका छन् । विश्वका प्रतिष्ठित जर्नलहरूमा लेख समेत प्रकाशित गरिसकेका उनलाई यो क्षेत्रका प्रतिष्ठित व्यक्तिको रूपमा परिचित गर्दै उक्त अवार्डको अन्तिम मनोनयनको पहिलो नम्बरमा राखिएको छ ।

उनीसँगै लाइफटाइम अचिभ्मेन्ट अवार्डको अन्तिम मनोनयनमा पर्नेहरूमा लाइफलाइनका सिइओ कोलिन सिरी, कलाकार जस्टिन स्लेस, प्रोफेसर रोबिन मर्फी, रोसन्ना बाइनी ओएम, डाक्टर सेयेद सेरिफ्देन र पिपुल्सस्टोरीज च्यारिटीकी सिइओ भिक्टोरिया मिलोस्चेस्की रहेकी छन् ।

उक्त अवार्डको छिनोफानो अक्टोबर २६ मा हुने भएको छ ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?