सिड्नी इन्टरनेसनल ब्याडमिन्टन : नेपालका प्रिन्स, विष्णु र नङ्सल प्रिक्वार्टरफाइनलमा पुग्न सफल
कार्तिक २, सिड्नी, अष्ट्रेलिया । अष्ट्रेलियामा जारी ‘सिड्नी इन्टरनेसनल २०२३’ ब्याडमिन्टन प्रतियोगितामा नेपालका ३ खेलाडी अन्तिम १६ मा स्थान बनाएका छन् । बिहीबार भएका एकल तर्फको खेलमा जित निकाल्दै नङ्सल तामाङ, प्रिन्स दाहाल र विष्णु कटुवालले अन्तिम १६ मा स्थान पक्का गरेका हुन् ।
महिला एकल तर्फको खेलमा नङ्सल तामाङले अष्ट्रेलियाकी युरान झाङमाथि १७-२१, २१-१७ र २१-१३ को जित निकालिन् । तर, महिला तर्फको एकल प्रतियोगितामै नेपाली अनुमाया राइ भने अष्ट्रेलियाकै माैरिक क्लरिसा विजयासँग १९-२१, २१-१९ र ७-२१ को सेटमा पराजित हुँदै प्रतियोगिताबाट बाहिरिइन् ।
पुरूष तर्फको एकल विधामा नेपालका प्रिन्स दाहालले सिंगापुरका झोङ हान लीलाई २१-१२ र २१-९ को सोझो सेटमा पराजित गर्दै अन्तिम १६ मा स्थान पक्का गरे ।
त्यसैगरी, विष्णु कटुवालले पनि अष्ट्रेलियाका तिमोतस एल्बर्टलाई ९-२१, २१-१९ र २१-१७ को प्रतिस्पर्धात्मक सेटमा पराजित गर्दा प्रफुल महर्जन भने अमेरिकाका एनरिको असुन्सिनोसँग १५-२१ र १३-२१ को सोझो सेटमा पराजित हुँदै प्रतियोगिताबाट बाहिरिए ।