सिड्नी इन्टरनेसनल ब्याडमिन्टन : क्वार्टरफाइनलमा टुङ्गियो प्रिन्सको यात्रा
कार्तिक ४, सिड्नी, अष्ट्रेलिया । अष्ट्रेलियाको सिड्नीमा जारी ‘सिड्नी इन्टरनेसनल २०२३’ ब्याडमिन्टन प्रतियोगितामा नेपाली खेलाडीको यात्रा सकिएको छ । शनिबार क्वार्टरफाइनलमा पुरूष सिंगलतर्फ नेपालका प्रिन्स दाहाल पराजित भएसँगै नेपाली खेलाडीको यात्रा टुङ्गिएको हो ।
शनिबारको खेलमा प्रिन्स चाइनिज ताइपेका टिङ येन चेनसँग पराजित भएका हुन् । पहिलो सेटमा लगातार पछाडी परेका प्रिन्सले दोश्रो सेटमा अग्रता लिएका थिए । तर, अग्रता जोगाउन नसक्दा उनी चेनसँग १७-२१ र १८-२१ को सोझो सेटमा पराजित भए ।
यसअघि भिक्टोरियाको बेन्डिगोमा भएको ‘बेन्डिगो इन्टरनेसनल च्यालेन्ज २०२३’मा पनि प्रिन्स क्वार्टरफाइनलमा नै पराजित भएका थिए ।
अष्ट्रेलियामा भएका यी दुवै प्रतियोगितामा नेपालका प्रिन्ससहित प्रफुल महर्जन, विष्णु कटुवाल, नङ्सल तामाङ र अनुमाया राइले प्रतिस्पर्धा गरेका थिए ।