मेलबर्नमा वास्तुमार्फत घर किन्न सघाइरहेका युगेन्द्र


कार्तिक २५, मेलबर्न, अष्ट्रेलिया । गाँस, बास र कपास जीवन जिउनका लागि अत्याश्यक पूर्वशर्तहरू हुन्। मानिसहरूले अधिकांश समय यिनै तीन पूर्वशर्तहरूको व्यवस्थापन गर्नका लागि खर्च गरिरहेका हुन्छन्। अझ, यी तीनमा पनि सबैभन्दा मूल्यवान छ, बास अर्थात् घर।

दिनभरी काम गर्ने मानिसहरूको एउटा इच्छा हुन्छ, थाकेको समयमा राती सुत्ने एउटा उपयुक्त घर होस्। यसका लागि अधिकांशले कडा मेहनत गर्छन् र जिन्दगीभर गरेको कमाइ संकलन गरेर एउटा घर खरिद गर्छन्। पछिल्लो समय घरको मूल्य विश्वव्यापी नै बढेको छ। दिनप्रतिदिन घरको मूल्य बढ्दै गएको अवस्थामा जिन्दगीभरको कमाइ गलत ठाउँमा फस्यो वा पर्ने भन्दा बढी मूल्य तिरेर घर किनिएछ भने पछुताउँनु बाहेक अरू विकल्प कम नै हुन्छन्।

यस्तै, समस्यामा परेर पछुताउने अवस्थामा कमी होस् भन्ने उद्देश्यले अष्ट्रेलियाको मेलबर्नमा युगेन्द्र रेग्मीले इन्स्पेक्सन (निरीक्षण)सेवा दिइरहेका छन्। गत वर्ष अर्थात् २०२२ को डिसेम्बरमा युगेन्द्रले वास्तु विल्डिङ इन्स्पेक्सनमार्फत अधिकांश नेपाली सहित एसियाका मानिहरूलाई उपयुक्त घर खरिद गर्नका लागि सहयोग गरिरहेका छन्।

शैक्षिक पृष्ठभूमी र व्यवसायिकताका हिसाबले उनी सिभिल इन्जिनियर हुन्। नेपाल, जापान र हल्याण्डमा गएर समेत शैक्षिक अनुभव बटुलेका युगेन्द्र २०१३ मा अष्ट्रेलिया आएका थिए। केही समय भेट (भोकेसनल एजुकेशन एण्ड ट्रेनिङ)मा अध्यापनको काम गरेका थिए। त्यसपछिका केही वर्षदेखि नै सिभिल इन्जिनियरिङ सम्बन्धित क्षेत्रमा काम गरिरहेका छन्। उनी सिभिल इन्जिनियरिङका पिएचडी होल्डर समेत हुन्।

केही समय जिम्स विल्डिङको फ्रेन्चाइज लिएर यस पेशामा होमिएका युगेन्द्रलाई आफ्नै पहिचान सहितको व्यवसाय बनाउने आकांक्षाले वास्तु विल्डिङ इन्स्पेक्सनसम्म डोहोर्याएको हो।

यसका अलावा उनले अनलाइनमार्फत आफ्नै शैक्षिक र व्यवसायिक अनुभव विद्यार्थीहरूलाई बाँडिरहेका छन्। उनि दैनिक अनलाइनमार्फत अध्ययन समेत गराइरहेका छन्। उनले यसलाई ज्ञानको हस्तान्तरण समेत भन्न रुचाउँछन्।

आफ्नो स्वामित्वमा घर बनाउने विश्वव्यापी २ वटा प्रचलन छन्, एउटा बनिसकेको घर किन्ने। र, अर्को, सुरूबाट नै आफ्नो इच्छा अनुसारको घर बनाउने। युगेन्द्रले मेलबर्नमा यी दुवै खालका सेवा दिइरहेको बताएका छन्।

उनि भन्छन्, ‘वास्तुले पुरानो घर खरिद गर्नेहरूका लागि घरको अवस्था कस्तो छ, के के खराबी देखिएको छ र खरिद गरेपछि कति लागत लाग्नसक्छ भन्ने अनुमानित खर्च औँल्याइदिने काम गर्छ। अर्को भनेको बिल्डर्सले बनाएको घर डिजाइन अनुसार मिलेको छ कि छैन भन्ने रिपोर्ट दिन्छ। जसले घरमालिकलाई घरको अवस्थाबारे प्रष्ट पारिदिन्छ।’

युगेन्द्रका अनुसार वास्तुका करीब ९० प्रतिशत ग्राहकहरू नेपालका छन्। त्यसपछि भारत सहित एसिया र अष्ट्रेलियाकै घर खरिदकर्ताहरूले पनि वास्तुको सेवा लिएका छन्। युगेन्द्र स्वयं पनि नेपालीहरूलाई सन्तुष्टि मिल्नेगरी सेवा दिन पाउनु खुसीको कुरा भएको बताउँछन्।

‘अष्ट्रेलियाकै विल्डिङ इन्स्पेक्टरहरू पनि उत्कृष्ट छन्। तर, नेपाली इन्स्पेक्टरसँग नेपाली ग्राहक जति खुलेर बोल्न र कुराहरू राख्न सक्छन् त्यति यहाँकासँग राख्न सक्दैनन् जस्तो लाग्छ। त्यही भएर पनि वास्तुका ग्राहकहरू धेरै नेपाली छन्। उनीहरूलाई सेवा दिन पाउँदा खुसी लाग्छ।’, युगेन्द्र भन्छन्।

वास्तुले घरको रिपोर्ट दिइसकेपछि ग्राहकहरूले उक्त रिपोर्ट अनुसार संरचना बनेको छ कि छैन भन्नेबारे विल्डर्सँग भरपूर जानकारी लिनुपर्ने सुझाव दिन्छन्। यसरी विल्डर्स वा सुपरभाइजरसँग घरको विस्तृत जानकारी लिँदा आफ्नो घर कस्तो बनेको छ भन्ने पूरा जानकारी हुने उनले सुझाएका छन्।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?