हमासले २४ बन्धक रिहा गर्याे


मंसिर ९, काठमाडौँ । हमासले इजरायलबाट बन्धक बनाएका २४ जना रिहा भएका छन्। हमासले शुक्रबार उनीहरूलाई इजिप्ट हुँदै इजरायल फर्किनका लागि रेडक्रसको जिम्मा लगाएको हो।

तीमध्ये १३ इजरायली, १० थाई र एक फिलिपिनो रहेको इजरायल र हमासबीच मध्यस्थता गर्दै आएको कतारले जनाएको छ।

मुक्त भएका इजरायलीमा दुई, चार, छ र नौ वर्षका चार बालबालिका र एक ८५ वर्षीया महिला छन्। इजरायलले बन्दी बनाएका प्यालेस्टिनीलाई अब सम्झौताको एक भागको रूपमा वेष्ट बैंकमा रिहा गरिएको छ।

सम्झौताका शर्तअनुसार, अस्थायी युद्धविरामको अवधिमा जम्मा ५० इजरायली बन्धक र १५० प्यालेस्टिनी बन्दीलाई चार दिनभित्र रिहा गरिने छ। अक्टोबर ७ मा हमासले गरेको आक्रमणमा १२ सय जनाको मृत्यु भएको थियो। २४० जनालाई बन्धक बनाएको थियो।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?