यु-१९ एसिया कपको उपाधि बंगलादेशलाई
पुस १, काठमाडौं । यु १९ एसिया कप क्रिकेटको उपाधि बंगलादेशले जितेको छ। दुबईमा आज भएको फाइनलमा घरेलु टोली युएईलाई १९५ रनले पराजित गर्दै बंगलादेशले उपाधि जितेको हो। समूह चरणमा पनि युएईमाथि बंगलादेश नै हावी भएको थियो। युएईले पाकिस्तान र बंगलादेशले भारतलाई सेमिफाइनलमा पराजित गर्दै उपाधि भिडन्त गरेका थिए।
दुबईमा आज टस हारेर पहिला ब्याटिङ गरेको बंगलादेशले निर्धारित ओभरमा ८ विकेट गुमाएर २८२ रन बनाएको थियो। बंगलादेशको सुरुआत राम्रो नभए पनि ओपनर अस्कुर रहमान सिवालीले शतकीय पारि खेलेका थिए।
पहिलो विकेटको रुपमा जिसन आलम ७ रन बनाएर आउट भएपछि सिवाली र चोदुर मोहम्मद रिजवानले पारि सम्हालेका थिए ।शिवालीले १२९ रनको शतकीय पारि खेल्दा चोदुर मोहम्मद रिजवानले ६० रनको साझेदारी गरे।
बंगलादेशका लागि अर्का खेलाडीले अरिफुल इस्लामले पनि ५० रनको योगदान गरे। त्यसबाहेक कप्तान मोफजुर रहमान राबेले २१ रन जोड्दा अरुले भने राम्रो प्रदर्शन गरेनन्। युएईका आयमान अहमदले सर्वाधिक ४ विकेट लिँदा ओमिद रेहमानले २ विकेट लिए।
२८३ रनको लक्ष्यसहित मैदान उत्रिएको युएई २४.५ ओभरमा सवै विकेट गुमाएर ८२ रनमा रोकियो। युएईका लागि ध्रुव परासरले सर्वाधिक नटआउट २५ रन बनाउँदा अक्सत राईले ११ रनको पारि खेले। अरु कुनै पनि खेलाडीले दोहोरो अंकमा रन बनाउन सकेनन्।
बंगलादेशका लागि मारुफ मरिदा र रोहनत दुलाह बोरसनले तीन तीन विकेट लिँदा इकबाल होसेन इमोन र सकिव परवेज इमोनले दुई दुई विकेट लिए।