स्पेनिस ला लिगा फुटबल : एथ्लेटिको मड्रिड विजयी
पुस ८, काठमाडौं । स्पेनिस ला लिगा फुटबलमा एथ्लेटिको मड्रिड विजयी भएको छ । शनिबार राति सम्पन्न भएको खेलमा सभेल्लिालाई १–० गोल अन्तरले पराजित गरेको हो।
जितसँगै एथ्लेटिको मड्रिड लिग तालिकाको तेस्रो स्थानमा उक्लिएको छ। उसले बार्सिलोनालाई पछि पारेको हो। एथ्लेटिको मड्रिड र बार्सिलोनाको समान ३८ अंक भए पनि गोल अन्तरमा तेस्रो स्थानमा रहन पुग्यो। रियल मड्रिड र जिरोना समान ४५ अंकका साथ तालिकाको पहिलो र दोस्रो स्थानमा रहँदा पराजित भएको सेभिल्ला भने १६ अंकसहित १५ औं स्थानमो छ।
पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलमा एथ्लेटिको मड्रिडले दोस्रो हाफ सुरु भएको पहिलो मिनेटमै गोल गरेको थियो। मार्कस लोरेन्टले गोल गर्दै अग्रता दिलाएका थिए। सोही अग्रता अन्तिमसम्म जोगाउँदै स्पष्ट ३ अंक लिन सफल भयो।
एथ्लेटिको मड्रिड ७० औं मिनेटमा १० खेलाडीमा झरेको थियो। कागलर सोयोन्सु वैकल्पिक खेलाडीको रुपमा ६६ औं मिनेटमा मैदान प्रवेश गरेका थिए। तर ४ मिनेट पछि नै खराब ट्याकल गरेका कारण भारको सहयोगमा रातो कार्ड दिइएको थियो।
१० खेलाडीमा रहेको एथ्लेटिको मड्रिडविरुद्ध सेभिल्लाले कुनै पनि दबाब भने बनाउन सकेन।