सर्वियाको चुनाव धाँधली भएको भन्दै लगातार प्रदर्शन


पुस ९, एजेन्सी । युरोपियन राष्ट्र सर्वियमा सरकार विरोधी प्रदर्शन चर्कदै गएको छ। प्रदर्शनकारीहरुले बेलग्रेडको ऐतिहासिक भवन सिटी हलमा प्रवेश गर्ने प्रयास गर्दा सुरक्षाकर्मीसँग झडप पनि भएको थियो।

तर, सुरक्षाकर्मीले प्रदर्शनकारीलाई हटाउन भने सफल भएका थिए। सर्वियामा हालै सम्पन्न निर्वाचनलाई गैरकानूनी घोषणा गरिनुपर्ने आन्दोलनकारीको माग छ। आन्दोलनकारीले चुनावमा ठूलो धाँधली भएको बताउँदै आएका छन्।

सर्वियामा १७ डिसेम्बरमा आम निर्वाचनको नतिजा घोषणा भएको थियो। चुनावी नतिजाले राष्ट्रपति एलेक्सान्डर बुसिकको सरकारलाई सत्तामा टिकाएको छ। राष्ट्रपतिको पार्टीले ४७ प्रतिशत मत पाएको जनाइएको छ।

विपक्षी दल सर्बिया अगेन्स्ट भाइलेन्सले २३ दशमलव ५ प्रतिशत मत प्राप्त गर्दा सोसलिस्ट पार्टी अफ सर्बियाले ६.५६ प्रतिशत मत प्राप्त गरेको छ। तर, विपक्षी दलका समर्थकहरु यी नतिजाबाट सन्तुष्ट नभएकाले निर्वाचनमा धाँधली भएको आरोप लगाउँदै निर्वाचनलाई अवैध घोषणा गरी पुनः निर्वाचन गराउन माग गरिरहेका छन्।

प्रदर्शनकारीहरूले राष्ट्रपति बुसिकले सत्ताको दुरुपयोग गरेर मत पेटिका साटफेर गरेर आफ्नो पक्षमा नतिजा ल्याएको दाबी गरेका छन्। निर्वाचक प्रवेक्षकहरुले पनि प्रदर्शनकारीले आरोप लगाएजस्तै मतपेटिका हेरफेर भएको बताएपछि प्रदर्शन झन चर्किदै गएको हो।

उता, राष्ट्रपति बुसिकले टिभीमार्फत सम्बोधन गर्दै प्रदर्शनकारीहरूले देशलाई अस्थिर गर्न खोजेको आरोप लगाएका थिए । आफूले प्रदर्शनलाई नियन्त्रण गर्ने चेतावनी पनि दिएका छन्।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?