सुसाइड नोट छोडेर सम्पर्कविहीन भएका कोरियाली अभिनेता ली मृत भेटिए
पुस १२, एजेन्सी । कोरियन अभिनेता ली सन–क्युन मृत फेला परेका छन्। चर्चित फिल्म ‘प्यारासाइट’ मार्फत विश्वव्यापी ख्याति कमाउने अभिनेता क्युनविरुद्ध लागूऔषध प्रयोगको आरोप अनुसन्धान भइरहेको थियो। उनी बुधबार मृत फेला परेका हुन्।
प्रहरीका अनुसार एक दिनअघि सुसाइड नोट छोडेर घरबाट निस्केका उनी फर्केका थिएनन्। आत्महत्या प्रयासको संकेतका आधारमा प्रहरीले उनलाई खोजी गरिरहेको थियो। मध्य सियोलको जोङ्नो जिल्लाको पार्कनजिकै बिहान आफ्नै कारमा उनी मृत फेला परेका हुन्।
शवलाई सियोल नेसनल युनिभर्सिटी अस्पताल लगिएको प्रहरीले जनाएको छ।