बक्स अफिसमा धुम मच्चाइरहेको शाहरुख खानको ‘डंकी’ले ११ दिनमा कति कमायो ?
पुस १६, मुम्बई । शाहरुख खानको फिल्म ‘डंकी’ले बक्स अफिसमा धुम मच्चाइरहेको छ। राजकुमार हिरानीले निर्देशन गरेको यो पारिवारिक मनोरञ्जनात्मक चलचित्रले दर्शकको राम्रो प्रतिक्रिया पाइरहेको छ। कमेडीसँगै ‘डंकी’ले सामाजिक सन्देश पनि दिने यो फिल्मले बजार तताइरहेको छ।
डिसेम्बर २१ मा हलमा रिलिज भएको यो मल्टिस्टार फिल्मले सोचेभन्दा राम्रो कमाई गर्न सफल भएको भारतीय सञ्चार माध्यमले जनाएका छन्। जसका कारण फिल्मले बक्स अफिसमा लगातार राम्रो कमाई गरिरहेको छ। चलचित्रले ११ औँ दिनमा पनि आफ्नो पकड कायम राखेको छ। त्यसैले वर्षको अन्तिम दिन अर्थात दोस्रो आइतबार फिल्मको बक्स अफिस कलेक्सन राम्रो रहेको छ।
शाहरूखको प्रोडक्सन कम्पनीका रेड चिल्ली इन्टरटेन्मेन्टका अनुसार ‘डंकी’ विश्वव्यापी रूपमा ३६१.३० करोड कलेक्सन गरिसकेको छ।
सैकनिल्कको रिपोर्ट अनुसार भारतमा मात्रै ‘डंकी’ले रिलिजको ११ औँ दिन अर्थात आइतबार ९.५ करोड भारूको शानदार कलेक्सन गरेको छ। योसँगै ‘डंकी’को हालसम्म भारतमा मात्रै कुल संकलन १८५.७२ करोड रहेको छ। जसअनुसार नयाँ वर्षमा पनि ‘डंकी’को कमाई बढ्ने अपेक्षा गरिएको छ।
फिल्मको हालसम्मको कमाईलाई हेर्दा ‘डंकी’ले भारतीय बजारमा छिट्टै २०० करोडको आँकडा पार गर्ने देखिएको छ।
राजकुमार हिरानीको फिल्ममा शाहरुख खान फरक अवतारमा देखिएका छन्। यो फिल्मबाट खानले छुट्टै जादू बनाएका छन्। यसमार्फत तापसी र शाहरुख पहिलो पटक स्क्रिन सेयर गरेका छन्। फिल्ममा यी दुई बाहेक विक्की कौशल, बोमन इरानी, अनिल ग्रोवर र विक्रम कोचरको पनि महत्वपूर्ण भूमिका छ।